काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच एकता प्रक्रिया अन्तिम संघारमा रहेको छ ।
केही समयदेखि दुई दलका शीर्ष नेताहरुबीच एकताका लागि गम्भीर छलफलहरु भइरहेका छन् । नागरिक उन्मुक्ति पार्टीले त सो विषयको छलफलका लागि केन्द्रीय समिति बैठक नै आह्वान गरेको थियो । शनिबार सम्पन्न बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउतले विशेष सम्बोधन गरेका छन् । उनले उक्त बैठकमा आफूहरु मिलेर जान नसकेको बताए । यदी आफूहरु मिलेर जान सकेको भए थप शक्ति हासिल गर्न सकिने उनले बताए ।
आफूले निर्वाचनकै बेला नाउपासँग मिलेर जाने प्रस्ताव गरेको तर त्यसबेला मिल्न नसकेका कारण राम्रो सिट ल्याउन नसकेको समेत बताए । यदी दुई दल मिलेर निर्वाचनमा गएको भए अहिले संसद्मा ३० सिटको शक्ति हुने समेत उनले बताए ।
‘हामीले त मिलेर जाऔँ भनेर प्रस्ताव गरेका हौँ । हामीले त्यसबेला त्रृटि गर्यौँ । हामी त्यतिबेलै मिलेर गएको भए हाम्रो प्रत्यक्षमा १५ समानुपातिकमा १५ गरी ३० सीट त्यसैपनि हुन्थ्यो । त्यसो गर्न सकेको भए अझै जनलहर पैदा हुन सक्थ्यो । त्यसबेला त जनताले कस्तो हुन्छ ? यो राष्ट्रिय पार्टी बन्छ कि बन्दैन केही थाहा नहुँदा पनि भोट दिएको हो नि । यहाँ ३२ सीटले देश चलाइरहेको बेलामा एउटा थारु, मधेसी, दलितको छोराले एउटा इतिहास लेख्नसक्ने अवसर आउनसक्थ्यो,’ उनले बैठकलाई सम्बोधन गर्दै भनेका थिए ।
त्यसो त नाउपाका संरक्षक रेशम चौधरी कैलाली घटनामा जेलमा रहँदा आफू पटकपटक भेट्न गएको र पार्टी एकताको प्रयास गरेको बताए । साथै टीआरसी लगायत विधेयक अघि बढाउँदा नाउपाले रेशम छुटाउने मुख्य सर्त राख्दा आफूहरु पनि त्यसमा साथ रहेको उनले बताए ।
‘तपाईँहरूले टीआरसी विधेयक ल्याउन हुने उहाँलाई किन छुटाउन नहुने भन्दै हामी झगडा गथ्र्यौँ । पछि उहाँ निस्किनुभयो । उहाँ जेलमा हुँदा पनि हामीबीच संवाद हुन्थ्यो । म खुलेर भन्छु, त्यतिबेला पनि हामी मिलेर जाऔँ भन्ने कुरा गथ्र्यौँ । हामीलाई थाहा छ हामी एक्लै हिँड्न गर्न सक्दैनौँ । हामी मिलेर गयौँ भने मात्रै हामीले हाम्रो माग पूरा गराउन सक्छौं । त्यसबेला म कहिलेकाहीँ मात्रै काठमाडौं आउने गर्थे । त्यतिबेला नै एक हुने प्रयास सफल भएन,’ उनले भने ।

तराई मधेशमा स्थापित मधेशवादी दलहरुको वर्चस्व परास्त गर्न दुई दलले एक अर्काको साथ खोजेका छन् । दुई दल मिल्न लाग्दा मधेशवादी अन्य दलहरु एकता प्रक्रिया भाँड्न लागि परेको दुवै पक्षको निचोड छ ।
तर आफूहरु सकारात्मक र एकतावद्ध भएर अघि बढ्नुपर्ने बताउँदै राउतले बैठकमा भने, ‘हामी एकदमै सकारात्मक छौँ । यो सबैको सहयोग र सहमतिले नै हुन्छ यो । कसैले कसैको दबाबमा हुँदैन । सबैको सहमतिमा सबैलाई सम्मान गरेरै हुन्छ । हामी त्यो वातावरण बनाउँछौँ । हामी मिल्नलाग्दा देश नै हल्लिएको छ । हामीलाई मिल्न नदिनको लागि अनेक षड्यन्त्र हुनसक्छ । भइराखेका छन् पर्दापछाडि । हामी सचेत भएर अघि बढ्नुपर्छ । हामी राष्ट्रिय शक्तिको रूपमा सम्पूर्ण दलित, उत्पीडित, थारु, मधेसी सबै वर्गको हक अधिकारको लागि सबैजना लागौँ ।’
राउतले सार्वजनिक रुपमा नै आफूहरु मिल्ने गरी आएको बताए । साथै जनताको अधिकारलाई प्राथमिकतामा राखेर आफूहरु मिल्नुपर्ने सीकेको धारणा रहेको थियो ।
‘हामीबाट त्यतिबेला त्यो भूल भयो त्यो स्विकार्छौँ । त्यही गल्तीलाई सच्याउनको लागि हामी अहिले यहाँ उपस्थित भएका छौँ । हामीले व्यक्तिगत आकांक्षा राखेर भएन नि। हामीले जनताको अधिकारलाई प्राथमिकतामा राख्नुपर्यो । त्यसैले अब मिलौँ भनेर हामी यहाँ आएका छौँ। त्यसका लागि रेशमजी, रञ्जिताजी पनि खटिनुभएको छ,’ उनले भने ।
पछिल्लो समय तराई केन्द्रित दलहरु विभाजित अवस्थामा रहेका छन् । जसकारण यही मौकामा एकता गर्न सकेमा आफूहरुले तराईको राजनीतिमा वर्चस्व कायम गर्न सकिने दाउ दुवै दलको रहेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया