१६ वर्षपछि स्ववियु निर्वाचन भएको पिएन क्याम्पसमा देखिएन उत्साह

लोकपथ
1.8k
Shares

काठमाडौं । देशकै सबैभन्दा धेरै विद्यार्थी मतदाता रहेको पोखराको पृथ्वीनारायण क्याम्पस (पिएन क्याम्पस) मा स्ववियु निर्वाचनको मतदानको समय सकिएको छ ।

बिहान ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजे सकिएको छ । मुलगेट भित्र रहेका विद्यार्थीहरुले मात्रै अब मतदान गर्न पाउनेछन् ।

२०६५ सालपछि १६ वर्षको अन्तरालमा अहिले स्ववियु निर्वाचन हुँदैछ । तर त्यहाँ विद्यार्थीहरुमा धेरै उत्साह नदेखिएको पाइएको छ ।

कुल ९ हजार २ सय २७ मतदाता रहेको पिएन क्याम्पसमा ४ बजेसम्म जम्मा २ हजार ८ सय ९७ मत खसेको छ ।

निर्वाचन समितिले ४ बजेपछि मुख्य गेट बन्द गरेको छ भने भित्र रहेका मतदाताहरुले मात्रै मतदान गर्न पाउनेछन् ।

त्रिभुवन विश्वविद्यालयले गत चैत ५ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकेको थियो । तर विद्यार्थी संगठनको आन्तरिक विवादका कारण आज मतदान हुन लागेको हो ।

पिएन क्याम्पसमा दल निकट र केही स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दिएका छन् । यसअघि त्यहाँ एमाले निकट अनेरास्ववियुले चुनाव जित्दै आइरहेको थियो ।

पिएन क्याम्पसको स्ववियु सभापतिका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएर प्रतिष्पर्धा गरेका छन् ।

जहाँ अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नविन अधिकारी, अनेरास्ववियूसहितका संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले उम्मेदवारी दिँदा विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् ।

मतदान सकिएसँगै सर्वदलीय बैठक बसेर मतगणना हुनेछ ।

१६ वर्षपछि पिएन क्याम्पसमा स्ववियु निर्वाचन : मतदान जारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?