सडकको आवाज व्यवस्थाविरुद्ध भन्दा बढी अवस्थाविरुद्धको हो : नेता केसी

लोकपथ
1.9k
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पछिल्लो समय सडकमा व्यवस्थाविरुद्ध भन्दा बढी अवस्थाविरुद्ध आक्रोश देखिएको बताएका छन् ।

आजबाट सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्नो धारणा राख्दै पूर्वमन्त्री समेत रहेका केसीले सो कुरा बताएका हुन् ।

उनले नेतृत्वको ध्यानाकर्षण गराउँदै सडकको आवाजलाई भाषण र प्रतिक्रियाले मात्र नपुग्ने भन्दै विकृतिको कठोरताका साथ अन्त्य गर्नुपर्नेमा जोड दिए ।

‘सडकको कोलाहल भ्रष्टाचार, कुशासन, आर्थिक अराजकता, विधिविहिनता र दण्डहिनताको एकमुष्ट जनआक्रोश हो । यो वर्तमान व्यवस्थाविरुद्ध भन्दा पनि अवस्था विरुद्धको आवाज हो । आक्रोशित जनतालाई आकर्षित गर्न अब भाषण र प्रतिक्रियाले मात्र पुग्दैन, यी विकृतिको कठोरताका साथ अन्त्य गर्ने युद्धस्तरीय कार्यक्रमले मात्र सम्भव छ,’ उनले भने ।

नेपाली कांग्रेस दक्षिणपन्थी जागरणको धार र सत्ताभित्र र बाहिर वामपन्थी धारको बिचमा रहेको बताउँदै कांग्रेसले आफ्नो मध्यमार्गी सक्रियतालाई भुल्न नहुने बताए ।

‘अहिले नेपाली कांग्रेस दक्षिणपन्थी जागरणको धार र सत्ताभित्र र बाहिर (‘सत्ताभितर’ र ‘सत्ताइतर’) का वामपन्थी धारको बीचमा छ । कांग्रेसले आफ्नो मध्यमार्गी सक्रियतालाई भुल्नु हुँदैन । पार्टी विधानको सर्वोच्चता, विधि र पद्धतिलाई हामीले अपनाउन सकेनौँ भने निरंकुशताको विरोध गर्ने हक गुमाउन पुग्छौँ,’ उनले भने ।

त्यस्तै सडकमा विभिन्न मुद्दा लिएर लाइरहेको नारालाई बेवास्ता गर्न नहुने बताउँदै सडकका गतिविधिलाई बेलैमा बुझ्न नसके मित्रराष्ट्रको जस्तै नियती भोग्नुपर्नेमा आशंका समेत व्यक्त गरे ।

‘सडकमा ओर्लेका जनता पनि नेपाली हुन् । यो सडक गतिविधिलाई वास्ता नगर्ने, सत्तातिर मात्र ध्यान दिने हो भने अफगानिस्तान, श्रीलंका, बांग्लादेश, सिरियाका शासकहरूको नियतिबाट हामी अपवाद हुन सक्दैनौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?