थुनुवालाई मापदण्ड बमोजिम हिरासतमा राखेका छौँ : प्रहरी महानिरीक्षक थापा

लोकपथ
1.6k
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले हिरासतमा रहेका व्यक्तिहरूको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेको बताएका छन् । 

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन् । 

उनले हिरासतमा रहेका व्यक्तिहरूलाई आधारभूत आवश्यकता अन्तर्गत गाँस, बास र कपासको व्यवस्थापन गरेको बताए । उनले थुनुवाहरूलाई भौतिक संरचनाको मापदण्ड बमोजिम हिरासतमा राखिएको दाबी गरे ।

उनले देशभरका विभिन्न स्थायी तथा अस्थायी इकाइहरुबाट अभियुक्तमाथि मुद्दा चलाउने गरेको बताए । प्रहरीको कतिपय इकाइमा भौतिक संरचना नभएका कारण थुनुवा राख्न समस्या रहेको उनको भनाइ छ । 

महानिरीक्षक थापाले गृहमन्त्रीको अग्रसरतामा देशभर लागु औषध नियन्त्रण सम्बन्धी महाअभियान सञ्चालन भइरहेको बताए । देशभर सक्रिय लागु औषध कारोबारीको ठुलो संख्या प्रहरीले पक्राउ गरेर अनुसन्धान र कारबाही भइरहेको उनको भनाइ छ ।                   

महानिरीक्षक थापाले देशभरका अधिकांश जिल्ला प्रहरी कार्यालय र हिरासत भवनको अवस्था दयनीय भएको बताए । भौतिक निर्माणका लागि वार्षिक रूपमा सरकारले उपलब्ध गराउने बजेटले भवन निर्माण गर्ने हो भने ३० वर्ष लाग्ने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?