जनता उज्यालोबाट अन्धकारतर्फ जान सक्दैनन् : महासचिव पोखरेल

लोकपथ
329
Shares

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अब नेपाली जनता उज्यालोबाट अन्धकारतर्फ जान नसक्ने बताएका छन् । 

प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उनले जनतामा देखिएको निरासालाई चिर्ने उद्देश्यका साथ गठित मुलुकका दुई ठूला राजनीतिक दल सम्मिलित वर्तमान सरकारले  देश र जनताका पक्षमा काम गरिरहेको बताए ।

राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलेर वर्तमान सरकार बनेको स्पष्ट गर्दै महासचिव पोखरेलले भने, ‘जब मुलुकमा समस्या आउँछ तब नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बन्ने गर्दछ । यसरी बनेको शक्तिशाली सरकारले समस्याको समाधानसहित देशलाई राजनीतिक निकास दिन्छ ।’

एक अर्को प्रसंगमा उनले एकदलीय पञ्चायति शासनकालमा नेपाली जनताको नैसर्गिक अधिकार हनन भएको तथा आधारभूत आवश्यकताबाट आमजनता वञ्चित हुनुपरेको  दृष्टान्त प्रस्तुत गर्दै लोकतन्त्रको स्थापनापछि शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतका आधारभूत आवश्यकता पूरा भई देश विकास निर्माणको बाटोमा अघि बढेको स्पष्ट गरे ।

हल्लाका पछि लाग्नुभन्दा सत्यतथ्यका आधारमा समाचार सम्प्रेषण गरी आम जनतालाई सुसूचित गर्न सञ्चारकर्मीको ध्यानाकर्षण गर्दै उनले भने, ‘पञ्चायती व्यवस्था मुलुकको लागि अन्धकार व्यवस्था थियो, जहाँ साक्षरता प्रतिशत कम थियो, बिजुली उत्पादन हुन सकेको थिएन, नागरिकको प्रतिव्यक्ति आम्दानी कम थियो र खानेपानी सुविधाबाट जनता वञ्चित थिए ।’

महासचिव पोखरेलले नेपाललाई राम्रो भएको देख्न नचाहने समूहकै कारण मुलुकमा राजनीतिक अस्थिरता सिर्जना हुने गरेको उल्लेख गर्दै जनता सचेत भइसकेको अहिलेको अवस्थामा भ्रम सिर्जना गरेर कसैलाई पनि गुमराहमा राख्न नसकिने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?