विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने 

लोकपथ
945
Shares
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने प्रस्ताव बहुमतले पारित गरेको छ  । 

आइतबार सिंहदरबारमा बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको छलफलमा उक्त व्यवस्थासहित विधेयकको दफा २१ लाई बहुमतले पारित गरेको हो ।  विधेयकमा विश्वविद्यालयको सभाको सभाध्यक्ष सहकुलपतिको रूपमा शिक्षामन्त्रीले गर्ने प्रस्ताव गरिएको छ । बैठकले विश्वविद्यालयको उपकुलपतिसहितका पदाधिकारीको नियुक्ति भने खुला प्रतिस्पर्धाबाट गर्ने सहमति गरेको छ । 

प्रतिपक्षी दलका सांसदहरुले विश्वविद्यालयको कुलपति समेत खुला प्रतिस्पर्धाको माध्यमबाट प्राज्ञिक व्यक्तिलाई राख्नुपर्ने धारणा राखेका थिए । एक जना प्रधानमन्त्रीले मात्र धेरै विश्वविद्यालयहरू हेर्न नसक्ने उनीहरूको तर्क थियो । तर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रधानमन्त्रीलाई नै कुलपति बनाउने विषयमा मन्त्रालयको मस्यौदा र राष्ट्रिय सभाको म्याण्डेडलाई अपनत्व गर्नुपर्ने बताइन् । उनले कुलपतिमा प्रधानमन्त्रीलाई नै निरन्तरता दिने कुरामा सर्व सहमति गर्न आग्रह गरिन् । 

प्रमुख प्रतिपक्षी दलका सांसद देवेन्द्र पौडेलले दलीय प्रणालीमा स्थिर सरकार हुन नसक्ने भन्दै प्राज्ञिक व्यक्तिलाई कुलपति बनाउनुपर्ने धारणा राखे । उनले भारतको केरलाको उदाहरण दिँदै कुलपति प्रधानमन्त्री नभए पनि विश्वविद्यालयहरूलाई राम्रोसँग सञ्चालन गर्न सकिने बताए । उनले प्राज्ञिक व्यक्तिहरूलाई खुला प्रतिस्पर्धाको आधारमा कुलपति नियुक्त गर्नसके शैक्षिक ज्ञानको आधारमा प्रशासनिक व्यवस्थापन समेत बताए । 

पढेलेखेको योग्य व्यक्तिले विश्वविद्यालयको नेतृत्व गर्ने कुरा सकारात्मक भएकोले सहमति गर्नुपर्ने उनको धारणा थियो । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले उपकुलपति सहितका पदाधिकारीहरूको नियुक्ति वैज्ञानिक प्रतिस्पर्धाका आधारमा गरिनुपर्ने बताए । उनले लोकसेवाको आफ्नै पाठ्यक्रम र परीक्षा प्रणाली भएकोले विश्वविद्यालयको पदाधिकारी नियुक्त त्यसरी गर्न नहुने धारणा राखे । उनले कुलपति समेत प्रधानमन्त्री रहने व्यवस्था ठिक नभए पनि बाध्यताले सहमति गर्नुपरेको बताए । कुलपतिको विषयमा प्रधानमन्त्रीसँग स्वयं कुरा गर्ने उनको भनाइ छ । 

शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित भएर शिक्षा समितिमा आएको हो ।  सरकारले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचनामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?