मौन कांग्रेस : न राजावादीप्रति आक्रामक, न गणतन्त्रवादीको आन्दोलनमा समर्थन

लोकपथ
3.1k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पूर्व राजा ज्ञानेन्द्र शाह र राजावादीहरुको सक्रियताबारे मौनता देखाएको छ ।

आज कार्यसम्पादन समितिको बैठक बसेको थियो । बैठकले विभिन्न निर्णयहरु गरे पनि सो विषयमा भने यथेष्ट निर्णयहरु गरेको छैन । अन्य दलहरुले आन्दोलन नै गरेर गणतन्त्रको रक्षा गर्ने समेतका कार्यक्रमहरु तय गर्दा नेपाली कांग्रेस भने मौन देखिएको हो ।

बैठकले संविधानप्रति प्रतिबद्ध रहने निर्णय गरेको हो । त्यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहेको जनाइएको छ ।

‘नेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै जनताले चुनेको प्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको हो,’ निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस यो संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिबद्ध रहेको र रहिरहने दृढता व्यक्त गर्दछ ।’

त्यस्तै संविधानको संरक्षण, सम्वद्र्धन र कार्यान्वयन मार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त सामाजिक विकृती र विसंगतिबाट मुलुकलाई मुक्त गराउँदै निरन्तर जनतालाई प्रगतीको मार्गमा लैजाने काममा पार्टी प्रतिबद्ध रहने जनाइएको छ ।

‘संविधानको संरक्षण, सम्वद्र्धन र कार्यान्वयन मार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त सामाजिक विकृति र विसंगतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यक्ता सम्बोधन गर्न सकिन्छ भन्नेमा नेपाली कांग्रेस दृढ विश्वास छ । यही विश्वासका साथ अघि बढ्नु नै आजको मुख्य राष्ट्रिय जिम्मेवारी ठान्दै नेपाली कांग्रेस यसका निम्ति आवश्यक अग्रसरता लिने निर्णय गर्दछ,’ निर्णयमा भनिएको छ ।

त्यसो त सत्ता साझेदार दल नेकपा एमाले, विपक्षी दलहरु माओवादी केन्द्र लगायत अन्य दलहरु पूर्व राजा ज्ञानेन्द्रको गतिविधि र राजावादीहरुको सक्रियताबारे आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । दुवै पक्षले चैत १५ गते काठमाडौंमा शक्ति प्रदर्शन नै राखेको छ । तर आफूलाई गणतन्त्र स्थापनाको मुख्य दल मान्ने नेपाली कांग्रेसले भने त्यति विरोध नजनाउँदा कांग्रेसले मौनता साँधेको समेत आरोप लाग्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?