के सरकारले पूर्वराजालाई गिरफ्तारको योजना बनाएकै हो ? छलफलका लागि आज शीर्ष नेताको बैठक बस्दै

लोकपथ
1.4k
Shares

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्नेसम्मको योजना बनाइरहेको बेला आज सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्षनेताबीच बैठक बस्दै छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्ने बैठकको प्रमुख एजेन्डा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय भए पनि समसामयिक राजनीतिक विषय पनि भएको स्रोतको भनाइ छ । 

बैठकका लागि प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आमन्त्रण गरिसकिएको छ । 

स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, हिन्दु राष्ट्र स्थापनासहितका मागसहित आन्दोलन चर्किरहेका बेला यी विषयलाई देउवा र दाहालसँग कुरा गर्ने भएका छन् । 

‘यो व्यवस्थालाई नै चुनौती दिँदै सडकमा उत्रिएपछि पूर्वराजालाई पनि गिरफ्तार गर्नुपर्ने हुन्छ, यस विषयमा ओलीले देउवासँग छलफल गरिसक्नुभएको छ, थप छलफल आवश्यक भएकाले प्रचण्डसँग भेट्ने योजना छ, तर प्रचण्ड तराई मधेसतिर भएकाले तीनै जना नेताको भेट हुन सकेको थिएन, अब आज भेट गर्ने तय भएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘आजको बैठकमा व्यवस्था जोगाउन के के गर्नुपर्छ, त्यो सबै गर्नुपर्नेमा नेताहरू सहमत नै हुनुहुन्छ ।’

त्यसो त प्रधानमन्त्री ओलीले यसअघि बसेको एमाले सचिवालय बैठकमा पूर्वराजाबाट व्यवस्थालाई चुनौती दिने काम बढ्दै गए गिरफ्तारसम्म गर्न सकिने जानकारीसमेत गराएको एक नेताले जनाएका छन् । सो बैठकमा उनले गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको बताउँदै आफू नेतृत्वको सरकारलाई विस्थापित गर्ने योजनासमेत रहेको बताएका थिए ।

भारतीय पक्षबाट आफू नेतृत्वको सरकार ढाल्ने योजना बनेको बताउँदै उनले आफूले त्यसको प्रतिकार गर्ने जानकारी एमाले नेतालाई गराएका थिए । गत ४ चैतमा बसेको सचिवालय बैठकमा ओलीले भारतीय जासुसी संस्था ‘रअ’ले आफू नेतृत्वको सरकारविरुद्ध गतिविधि गरेको बताउँदै त्यसो हो भने आफूले संसद्मै  खुला रूपमा बोल्ने बताएका थिए ।

एमाले स्रोतका अनुसार ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन दमकदेखि काठमाडौंसम्म भारतीयहरू परिचालित भएको पनि बैठकमा बताएका थिए । उनले आफूलाई हटाउने भारतीय चलखेललाई पनि देखाइदिने चेतावनी दिएका थिए । यसका साथै राजतन्त्र पुनर्स्थापनाको आन्दोलनमा भारतीयको पनि साथ सहयोग रहेको ओलीले बताएका थिए ।

प्रधानमन्त्री भएदेखि नै ओलीको भारतीय पक्षसँग सम्बन्ध सुधार हुन सकेको छैन । अरू प्रधानमन्त्रीलाई पदमा जानेबित्तिकै औपचारिक भ्रमणका लागि निम्तो दिने भारतले ओलीलाई नौ महिनासम्म पनि आमन्त्रण गरेको छैन ।

त्यसका लागि पटक पटक भएका प्रयास सफल हुन सकेको छैन । पछिल्लो समय परराष्ट्रमन्त्री आरजु देउवा राणाले प्रयास गरे पनि उनी पनि असफल भएकी छन् । 

राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, हिन्दु राष्ट्र स्थापनासहितका मागसहित आन्दोलन चर्किरहेका बेला पछिल्ला दिनमा प्रमुख दलका शीर्ष नेताले पूर्वराजाविरुद्ध चर्का अभिव्यक्ति दिइरहेका छन् । 

कांग्रेस सभापति देउवाले आइतबार आयोजित एक कार्यक्रममा पूर्वराजा फर्किन नसक्ने दाबी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतका दलहरू पूर्वराजालाई फर्काउने योजनासहित आन्दोलनमा उत्रिएपछि देउवाले पूर्वराजा फर्किन नसक्ने बताउँदै राप्रपाको अध्यक्ष बनाउनुपर्ने टिप्पणी गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजालाई विभिन्न आरोप लगाउँदै संवैधानिक राजतन्त्र नफर्किने बताएका छन् । मूर्ति चोरदेखि भाइमारासम्मको आरोप प्रचण्डले यसअघि सिन्धुपाल्चोकको एक कार्यक्रममा लगाएका थिए । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराजा वीरेन्द्रलाई ‘लोकतान्त्रिक’ र ज्ञानेन्द्र शाहलाई ‘बुद्धि नभएको’ भनेर टिप्पणीसमेत गरेका छन् ।

वीरेन्द्रप्रति सिंगो माओवादी आन्दोलन र आफ्नो पनि सकारात्मक धारणा बनेको बताउँदै प्रचण्डले पछिल्लो एउटा अन्तर्वार्तामा भनेका छन्, ‘वीरेन्द्रले केही न केही डेमोक्रेटिक ढंगले सोच्छन् भन्ने खालको बुझाइ बनेको थियो ।’

तर ज्ञानेन्द्रले निरंकुश राजतन्त्र फर्काउन ८६ वर्षे वयोवृद्ध नवराज सुवेदीलाई आन्दोलनको नेतृत्व गर्न भनेर दुःख दिएको प्रचण्डले बताए । अन्तर्वार्तामा प्रचण्डले भनेका छन्, ‘ज्ञानेन्द्रको बुद्धि के छ भने नवराज सुवेदी खोजेर, बिचरा त्यो ८६ वर्षको बुढालाई दुःख दिने गरी ल्याउने । यसबाट हाम्रो ज्ञानेन्द्र जीको बुद्धि के छ भन्ने देखियो ।’

८६ वर्षीय सुवेदी राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिका संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?