काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनिकरण गर्न सरकारले प्राथमिकताहरु बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले यसको न्यूनिकरणका लागि आफ्ना अहिलेसम्मका प्राथमिकताहरु बदलेर नयाँ र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने जरुरी देखिएको बताए ।
उनले यसको निदानका लागि मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्वन गर्न जरुरी रहेको बताए ।
मन्त्री पौडेलले भने, ‘अहिलेसम्मको प्राथमिकता बदलेर हामीले नयाँ ढंगबाट, प्रभावकारी ढंगबाट जाने स्थिति बनाउनु पर्छ । खुला सीमानाका कारणले पनि समस्या भएको छ । त्यसमा पनि हामीले मित्रराष्ट्रसँग सहकार्य गर्ने र निदान गर्ने साझा नीति अवलम्वन गर्नुपर्छ । खर्च भइरहेको छ । शतप्रतिशत उपलब्धि हाँसिल गर्नेगरी हामीले नीतिगत व्यवस्था गर्न आवश्यक छ । यहीँ टिभी क्षेत्रमा पनि सम्पूर्ण सेवाहरु उपलब्ध हुने अस्पताल हामीले सञ्चलनमा ल्याउनुपर्नेछ । आगामी आर्थिक वर्षमा यसलाई आवश्यक पर्ने बजेट विनियोजन गरेर यसलाई सञ्चालनमा ल्याउनेछौँ । टिभी फ्रि पालिका घोषणा गर्नेगरी हामीले १४९ लाई तोकेका छौँ । पहिलो १४९ मा पूर्ण परिणाम प्राप्त गर्न धेरै सजिलो छैन । त्यसमाथि नेपालमा ७५३ पालिका छन् । १४९ भनेको पाँच भागको एक भाग मात्रै हो । बाँकीलाई कसरी अघि लैजाने यसमा स्पष्ट नीति बन्नुपर्छ ।’
मन्त्री पौडेलले क्षयरोगको बिरामी मन्त्रालय, चिकित्सकले खोजेर नभेटिने भन्दै पालिकाले क्षयरोगको बिरामी खोज्नुपर्ने बताए ।
क्षयरोग पत्ता लगाउन स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया