काठमाडौं । अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट् इन अमेरिका’का दुई पोस्टर सार्वजनिक गरिएको छ । सिरिज निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै सेभेन कलर्स डिजिटलले निर्माण गरेको यो सिरिज नेपाली ओटिटी ‘एमएसएम भिडियो’मा प्रसारण हुने जनाएका छन् ।
बिमलेशका अनुसार यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पार्दै वैशाखको दोस्रो हप्ताबाट स्ट्रिमिङ हुनेछ । पहिलो सिजनको लागि १२ वटा शृङ्खला तयार भएका छन्, यी सबै शृङ्खला एकसाथ प्रसारणमा आउने निर्देशक अधिकारीले बताए ।
यो सिरिज व्यावसायिक रूपमा ओटिटीमा रिलिज हुने नेपालको पहिलो सिरिज रहेको निर्देशकले अधिकारीले बताए । ‘नेपाली वेब सिरिजको इतिहासमा पहिलो पटक यसरी व्यावसायिक रूपमा ओटिटीमा रिलिज हुँदैछ । यो इतिहासको एउटा नाम बन्न पाउँदा ज्यादै खुसी छु,’ अधिकारीले बताए ।
सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा गरिएको छ । यसअघि यसको टिचर तथा प्रचारात्मक गीत ‘अमेरिकामा घर छ’ सार्वजनिक गरिएको थियो । टिचर तथा गीतले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली र आपसी सम्बन्धलाई चित्रण गर्छन् । अब पहिलो सिजनको लागि ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको निर्देशकले बताए ।
सिरिजमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ-इन रिलेशनसिपमा रहेकी छोरीको कथा समेटिएको छ, जसले सिचुएशनल कमेडी-ड्रामा प्रस्तुत गर्नेछ । सिरिजले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको जीवनमा आउने विभिन्न उतारचढावलाई रोचक ढङ्गले प्रस्तुत गर्ने निर्देशक बिमलेश अधिकारीले बताए ।
नेपाली चलचित्रकी चर्चित अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा पुनरागमन गर्दै यस सिरिजमा मुख्य भूमिका निभाएकी छन् भने निर्देशक अधिकारी पनि कलाकारको रूपमा प्रमुख भूमिकामा छन् । अरुणिमा र बिमलेशसँगै राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा जस्ता कलाकारहरूले पनि सिरिजमा महत्त्वपूर्ण भूमिका निभाएका छन् ।
निर्देशक अधिकारीकै अवधारणामा बनेको यस सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन् । निर्माता रोशन घिमिरे हुन् भने सह निर्माताहरू सुमित्रा अधिकारी र कुमारी घिमिरे हुन् । सिरिजको सम्पादन मित्र डि गुरुङ, रंग संयोजन कपिल पराजुली, छायाङ्कन निर्देशक विक्रान्त मान श्रेष्ठ र, शान थापाले पोस्टर डिजाइन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया