किन बढिरहेको छ विद्युतीय चुलोको खपत ?

आठ महिनामै ३१ करोडको विद्युतीय चुलो आयात 

लोकपथ
560
Shares

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय चुलोको प्रयोग बढेर गएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार साउनदेखि फागुनसम्मको अवधिमा नेपालमा २०८१/८२ मा ३१ करोड ४० लाख खर्चेर १५ लाख ८ हजार ६८६ ओटा विद्युतीय चुलो आयात गरिएको छ ।

यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गर्ने गरिएको छ । गत वर्षको यही अवधिमा २२ करोड ६६ लाख खर्चेर १० लाख ३ हजार ७३० ओटा विद्युतीय चुलो भित्र्याइएको थियो । अहिले नेपालमा सबैभन्दा धेरै चीनबाट चुलो भित्रिएका छन् भने भारत,कतार, सिंगापुर, बंगलादेश, मलेसियाबाट पनि त्यस्ता चुलोहरु ल्याउने गरिएको छ ।  सरकारले नै विद्युतीय चुलो प्रोत्साहनको नीति लिएकाले प्रयोग बढेको भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीले बताए ।

नेपालमा विद्युत आपूर्तिमा सुधार र पेट्रोलियम पदार्थमा बढ्दो मूल्यवृद्धिका कारण विद्युतीय चुलोको प्रयोग सहज हुन थालेको सम्बद्ध विज्ञ तथा विक्रेताहरु बताउँछन् । सन् २०१५ को इन्धन संकटका समयमा नेपालका धेरै भान्छामा प्रवेश पाएको विद्युतीय चुलोको लोकप्रियता बढ्दै गएको उनीहरूको भनाइ छ ।  

ऊर्जाविज्ञ विजयमान शेरचन सिलिण्डरबाट निस्कने ग्यासले प्रदूषण उल्लेख्य बढाएकाले यसको प्रयोग निरुत्साहित गर्दै जानुपर्ने बताए । उनकाअनुसार एलपी ग्यासभन्दा विद्युत सस्तो र देश हितमा हुने भएकाले सरकारले विद्युत प्रयोगमा उपभोक्तालाई अझ जागरुक बनाउनुपर्छ ।  

नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले विद्युतीय चुलोको माग बजारमा राम्रो रहेको बताए । उनकाअनुसार त्यस्तो चुलो प्रोत्साहनमा स्थानीय तहहरु पनि लागिरहेकाले माग बढ्न गएको हो । 

उनकाअनुसार लोडसेडिङको अन्त्य पछि खाना पकाउन बिजुलीको अभाव छैन । सोही कारणले पनि प्रयोगकर्ता बढिरहेका छन् । इन्फ्रारेड जुनसुकै भाँडाहरु लाग्ने चुल्होहरु समेत रहेका कारण उपभोक्ताले सहज रुपमा विद्युतीय चुलोहरु प्रयोग गरिरहेका छन् । अझै पनि सचेतनाको अभाव रहेकाले सरकारले विद्युतीय चुलोको प्रयोगबारे जनचेतना बढाउनुपर्ने देवकोटाको भनाई छ । 

विद्युतीय चुलोको प्रयोगबाट आम प्रयोगकर्ता पनि सन्तुष्टि नै देखिएका छन् । प्रतिनिधिमूलक पत्रका रुपमा वानेश्वरकी सपना थापाले पनि नाकाबन्दीको समयदेखि नै विद्युतीय चुलोको प्रयोग गर्दै आएकी छिन् । उनले यसको प्रयोगबाट आफू सन्तुष्ट रहेको बताइन् ।

ऊर्जा अध्ययन केन्द्रले केही समयअघि गरेको अध्ययनमा ग्यासको तुलनामा विद्युतको प्रयोगले खाना बनाउँदा झन्डै आधा सस्तो पर्ने देखाएको थियो ।  विद्युतीय चुलोको प्रयोगसँगै विद्युत वितरण प्रणालीको क्षमता पनि बढाइनुपर्ने अध्ययनको निष्कर्ष थियो । 

सरकारले बजेटमा पनि ‘एक घर, एक विद्युतीय चुलो अभियान’ चलाउने घोषणा गरेको थियो । पछिल्लो समय केन्द्रदेखि प्रदेश सरकारसम्मै विद्युतीय चुलो प्रोत्साहनको नीति लिइएका कारण यसको प्रयोगकर्ता उल्लेख्य बढेका छन् । अनुदानमा आधारित विद्युतीय चुलो वितरण सम्बन्धी मापदण्ड बनाएर गण्डकी सरकारले त चुलो वितरण गरिरहेको छ । सरकारले मुलुकभित्र उत्पादित विद्युत खपत बढाउने नीति लिएको छ । 

विद्युत् विकास मार्गचित्र, २०८१ः ०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको छ । मार्गचित्रमार्फत अबको ११ वर्षमा विद्युतको थप २६ हजार मेगावाट हाराहारीमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।  

हाल विद्युत जडित क्षमता ३४०३ मेगावाट रहेको छ भने उत्पादित विद्युतमा साढे १३ हजार मेगावाट नेपालमै खपत गर्ने लक्ष्य लिएको छ । अहिले नेपालमा बढीमा २२ सय मेगावाटसम्म विद्युत खपत हुने गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?