कुलमानलाई हटाएको विरोधमा उर्जामन्त्री खड्काको पुत्ला दहन, माओवादी केन्द्रले दिउँसो प्रदर्शन गर्दै

लोकपथ
371
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा एकीकृत समाजवादीनिकट जनसंगठनले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । 

एकीकृत समाजवादीनिकट युवा संघ, अनेरास्ववियुलगायत जनसंगठनका नेताहरूले मंगलबार विश्वभाषा क्याम्पसअगाडि विरोध प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुतला दहन गरेका थिए । 

यस्तै माओवादी केन्द्र आबद्ध भातृ संगठनहरु पनि आन्दोलनमा उत्रिने भएका छन् ।

कुलमान हटाउने निर्णयविरुद्ध माओवादी केन्द्र आबद्ध भातृ संगठनहरुले आजै दिउँसो साढे ३ बजे नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्ने भएका छन् । वाईसीएल इन्चार्ज तथा युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ का अनुसार नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडि प्रदर्शन र कोणसभा हुने भएको छ । 

उनले विरोध सभामा सहभागी हुन कार्यकर्तालाई आह्वान गरेका छन् । कुलमान हटाएर बिचौलियाको सेवा गरेको भन्दै सरकारविरुद्ध चरणबद्ध संघर्ष गरिने र जनताको समर्थन खोजिने उनले बताए । 

कुलमानलाई हटाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गरेका छन्। सत्तारूढ दलभित्रै पनि घिसिङलाई हटाइएका चर्को असन्तुष्टि छ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिकरूपमै सरकारको आलोचना गरेका छन् ।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?