टोले गुण्डाको ‘एरिया विवाद’मा दुई समूहबिच झडप, एकको मृत्यु

लोकपथ
18.6k
Shares

काठमाडौं । काठमाडौंको कलंकीमा रहेको एलआरई स्कुलनजिकै दुई समूहबिच झडप हुँदा एक युवकको मृत्यु भएको छ । झडपमा दोलखा घर भई ढुङ्गेअड्डा बस्ने २२ वर्षीय अभय तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ करिब ७ बजेको समयमा कलंकीको एलआरआई स्कुल नजिकै रहेको मेलिसा मार्गमा भएको दुई समूहको झडपमा तामाङको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् । झडपका क्रममा धारिलो हतियार, मोटरसाइकलको सक र रड प्रहारबाट गम्भीर घाइते बनेका तामाङको कलंकीमा रहेको सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

झडपमा मकवानपुर घर भई पुरानो नैकापमा बस्ने चक्रे भन्ने पवन तामाङ, चन्द्रागिरि घर भएका २२ वर्षीय पासाङ तामाङ शेर्पा र नागढुङ्गा बस्ने २३ वर्षीय सन्दीप भुजेल रहेका छन् । उनीहरूको कलंकीको सहिद मेमोरियल अस्पताल र ओम समाज अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको टाउको लगायत शरीरका अन्य भागमा चोटपटक रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलको गुगल म्याप

यता प्रहरीले घटनामा संलग्न रहेको आरोपमा १५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एरिया विवादका विषयमा भएको थियो झडप
प्रहरीका अनुसार मृतक अभय तामाङको समूहलाई रोहित खड्का, विनय लामा, पर्वित श्रेष्ठ लगायतको समूहले आक्रमण गरेको प्रारम्भिक जानकारी आएको छ । घटनामा १० देखि १५ जनाको संलग्नता रहेको सूचना आएको भन्दै घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार यी दुई समूहबिच एरिया विवाद रहेको र सोही विषयलाई लिएर झडप भएको बताइएको छ । दुवै समूहका युवाहरू लागू औषध सेवन गर्ने समूहका रहेका तथा गुण्डागर्दीमा समेत संलग्न रहेको पाइएको छ । दुई समूहबिचको विवाद मुख्यतः कुन समूह कुन क्षेत्रसम्म जान पाउने वा गुण्डागर्दी गर्न पाउने भन्ने सम्बन्धमा विवाद बढेको प्रहरीको दाबी छ ।

गएको फागु पूर्णिमामा पनि यी समूहबिच विवाद बढेपछि खड्काको समूहले तामाङको समूहमाथि निशाना साँधेको पाइएको प्रहरीले जनाएको छ । तामाङको समूह लागू औषध गाँजा सेवन गर्नका लागि खड्का गाउँ नजिकैको मेलिसा मार्गमा आइपुगेको जानकारी आएपछि खड्काको समूह धारिलो हतियारसहित पुगी चार जनाको समूहमा रहेका उनीहरूमाथि अन्धाधुन्ध रड, मोटरसाइकलको सक र धारिलो हतियारले प्रहार गरेका थिए ।

ज्यान मार्ने उद्देश्यबाटै भएको आक्रमणपछि उपचारका क्रममा अभयको मृत्यु भएको थियो । घटना भइरहेकै समयमा एक एम्बुलेन्स साइरन बजाउँदै आएपछि प्रहरी आएको डरले आक्रमणकारी भागेका थिए । समयमै साइरन बजाउँदै एम्बुलेन्स नपुगेको भए थप युवाको ज्यान जान सक्ने एक प्रत्यक्षदर्शीले लोकपथलाई बताए ।

स्थानीय भन्छन्, ‘लागू औषध सेवनकर्ताको हब थियो घटनास्थल’
सोमबार साँझ कलंकीको खड्का गाउँ नजिकै रहेको मेलिसा मार्गमा भएको झडप स्थल लामो समयदेखि लागू औषध सेवनकर्ताका हब बन्दै आएको थियो । एलआरआई स्कुल नजिकै रहेको सानो खोलाको छेउमा प्रहरीको नजर नपुग्ने भएकाले कलेज समय सकिएपछि मध्यान्ह १२ बजेतिर र साँझ ५ बजेपछि लागू औषध प्रयोगकर्ताकाहरु सेवनका लागि पुग्ने गरेको एक प्रत्यक्षदर्शीले बताए । ती प्रत्यक्षदर्शीले भने, ‘यो ठाउँ गँजडियाहरुको हब बनिसक्यो । प्रहरीलाई भन्यो एक दिन आउँछ, भोलिबाट वास्ता गर्दैन । अहिले मृत्यु नै भएपछि बल्ल प्रहरीलाई घटना ठुलो लाग्यो, यहाँ त प्रत्येक साता साना साना झगडा र फाइट भइरहेकै हुन्छ ।’

एलआरआई स्कुलको पछाडिको भागमा रहेको खोलाको किनारमा गाँजा लगायतका लागूपदार्थ सेवनकर्ताहरू प्रत्येक दिन पुग्ने गरेको र त्यसको बारेमा प्रहरीलाई समेत जानकारी भएको स्थानीयले आरोप लगाए । प्रहरीले वास्ता नगर्दा घटना भएको भन्दै प्रहरीलाई आफूहरूले त्यसभन्दा अगाडि पनि खबर गरेको ती स्थानीयले बताए । उनले भने, ‘गँजडियाहरुको हब बनेपछि प्रहरीलाई पटक पटक भन्यौँ, एक दिन आउँछ र जान्छ, त्यसपछि वास्ता गर्दैन । यस्तो होला भनेर त हामीले पहिले नै भनेका थियौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?