काठमाडौं । कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय ट्रक चालक रौतहट सखुवाका रामनारायण यादव रहेका छन् ।
आज बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक अनियन्त्रित भई भरतपुर महानगरपालिका–२९ स्थित त्रिशुली नदीमा खसेको हो ।
जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार ट्रक त्रिशुलीमा खस्दा ट्रकका चालक र सह चालक दुबै जना घाइते भएका थिए । घाइतेमध्ये चालक यादवको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८ः३० बजे मृत्यु भएको हो ।
ट्रकका सहचालक रौतहटको गरुडा नगरपालिका–५ का १९ वर्षीय असुन्द्रकुमार यादव घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया