काठमाडौं । सिजी मोटर्सले उच्च क्षमताको ईभी पिकअप रिडारा नेपालमा भित्राएको छ । चीनको अग्रणी ईभी मोटर निर्माता गिली अटो ग्रुपले निर्माण गरेको रिडारा ईभी पिकअप सिजी मोटर्सले नेपाल भित्राएको हो ।
सोमबार सिजी मोटर्सले हात्तीवन रिसोर्ट, दक्षिणकालीबाट ईभी पिकअप रिडारा आरडी सिक्सको औपचारिक रुपमा सार्वजनिक गरेको हो । रिडारा ईभी पिकअपलाई सोमबार ट्र्याक एडभेन्चरसहित सार्वजनिक गरिएको हो ।
फोर ह्वील ड्राइभसहितको रिडारा आरडी सिक्स नेपाली बजारमा ७९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको सिजी मोटर्सले जनाएको छ । सार्वजनिक भएकै दिन सोमबार १० थान रिडारा आरडी सिक्स बुकिङ भएकोसमेत सिजी मोटर्सले जनाएको छ ।
अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन भएको दाबी गरिएको रिडारा आरडी सिक्सले ईभी पिकअप सेग्मेन्टमा नयाँ स्तर कायम गरेकोसमेत आयातकर्ताको दाबी छ ।

७३ किलोवाट ब्याट्री क्षमता भएको रिडारा आरडी सिक्सले एक पटक फुल चार्ज गरेपछि ४२४ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । रिडारा आरडी सिक्समा २२५ एमएमको ग्राउन्ड क्लियरेन्स छ भने यसको ग्रेडिबिलीटी ९५ प्रतिशत रहेको जनाएको छ । त्यसै गरी यो गाडीको टर्निङ रेडियस ६ दशमलव १ मिटरको रहेको छ भने ७ वटा ड्राइभिङ मोड र चिन सरकारले बनाएको जीवी – टी चार्जिङ अर्थात् उच्च क्षमताको छिटो चार्ज हुने चार्जिङ सुविधासमेत रहेको छ ।

के हो ईभी पिकअपमा ग्रेडिबिलिटी भनेको ?
सिजी मोटर्सले नेपाल भित्राएको रिडारा ईभी पिकअपमा ९५ प्रतिशत ग्रेडिबिलिटी रहेको बताइएको छ । यसको अर्थ उक्त गाडीले उकालो चढ्न सक्ने अधिकतम ढलान वा उचाइको अर्थलाई बुझाउँछ । ९५ प्रतिशत ग्रेडिबिलिटी भएको अर्थ, रिडारा आरडी ६ ईभी पिकअप ९५ प्रतिशतसम्मको उकाले चढ्न सक्ने हैसियत राख्छ भनेको हो । ९५ प्रतिशत उकालो भनेको ४३ दशमलव २ डिग्रीसम्मको उकालो चढ्न सक्षम भन्ने अर्थ हो । यसबाट यो पिकअपलाई अफ–रोड ड्राइभिङ र कठिन भू–भागमा समेत सहजरुपमा यात्रा गर्न सकिन्छ अर्थ बुझाउँछ ।

रिडारा आरडी सिक्सका विशेषताहरू
नेपालको भूगोल र अवस्थालाई मध्यनजर गर्दै सिजीले रिडारा आरडी सिक्स ईभी पिकअप नेपाल भित्राएको जनाएको छ । यसमा फोर ह्वील ड्राइभसहित ड्राइभिङ ७ फरक फरक मोड रहेका छन् । यसमा बालुवा, माटो, अफरोड, वेडिङ अर्थात् खोला वा केही सतहको पानीमाथि, इकोनोमी, कम्फर्ट र सपोर्ट फोर ह्वीका मोड तथा सुविधा रहेको छ । यसमा ५४० डिग्रीको सराउण्ड भ्यू क्यामेरासमेत जडान भएको छ ।

गिली अटो ग्रुपले उत्पादन गरेको रिडारा ईभी पिकअप चीनमा धेरै विक्री भएको र रुचाइएको ईभी पिकअप हो । चीनमा आफूलाई नम्बर वान पिकअप दाबी गर्ने रिडारा पिकअप अब नेपालमा पनि धेरैको रोजाइमा पर्ने दाबी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया