काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे नीलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा ओमप्रकाश राईको हत्या गर्ने व्यक्ति उनकै साथी भएको खुलासा भएको छ । ६६ वर्षीय राईको हत्या रोल्पाको परिवर्तन गाउँपालिका–६ घर भएका ५७ वर्षीय हिमाल बुढामगरले गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले हत्या अभियोगमा राईलाई पक्राउ गरिएको र उनलाई आज मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।
प्रहरी अनुसन्धानका क्रममा १०० रुपैयाँको विवादमा बुढामगरले राईको हत्या गरेको खुलेको छ ।
प्रहरीका अनुसार शनिबार मात्रै ओमप्रकाशको शव भेटिएको ठाउँ नजिकै लामाहरूले पूजापाठ गरेका थिए । कवाडी संकलनको काम गर्दै आएका उनीहरू त्यसै दिन साँझ पूजापाठको भेटी टिप्न सो ठाउँमा गएका थिए । जानुअघि उनीहरू सँगै बसेर मादक पदार्थ पनि सेवन गरेका थिए ।
भेटी टिपेर सुत्न जाने क्रममा भने उनीहरूबिच १०० रुपैयाँको विवाद भएको थियो । १०० रुपैयाँ पैसा नदिएपछि भुईँमा लडाएर पटक पटक हिर्काएर हत्या गरेको बुढामगरले प्रहरी बयानमा भनेका छन् ।
आइतबार बिहान ५ः५५ बजेतिर राई मृत भेटिएका थिए । प्रहरी घटनास्थल पुग्दा रगतले लतपतिएको अवस्थामा भुईँमा एक पुरुषको शव थियो । दाहिने कानको लोती चुँडिएको, टाउकोमा ठूलो चोट र सँगै रगत लतपतिएको ढुंगा फेला परेको थियो । शवसँगै बोरा पनि थियो । बोरामा विभिन्न कवाडीका सामानहरू पनि थिए । बोरा नजिकै क्याप, झोला पनि थियो । कवाडीका सरसामान भएको बोरा भेटिएपछि प्रहरी मृत कवाडीको सामान संकलन गर्ने व्यक्ति रहेको आशंका गरेर अनुसन्धान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया