चैत १५ मा राजावादी–गणतन्त्रवादी आमनेसामने : नवराज सुवेदी नेतृत्वको समितिद्वारा पनि जनप्रदर्शन गर्ने घोषणा 

लोकपथ
2.2k
Shares
पूर्व राजा ज्ञानेन्द्र शाह र पञ्चायतकालीन नेता नवराज सुवेदी

काठमाडौं । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते शुक्रबार राजधानीमा जनप्रदर्शन गर्ने घोषणा गरेको छ । 

नवराज सुवेदी नेतृत्वको समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै जनप्रदर्शनको घोषणा गरेको हो । जनप्रदर्शनमा सम्पूर्ण राजसंस्थावादी, हिन्दु अधिराज्यवादी तथा संघीयताविरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थनका लागि आह्वान गरिएको छ । 

विज्ञप्तिमा नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै देशभक्त, राजसंस्थावादीहरू एकताबद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको उल्लेख छ । साथै राजसंस्था पुनर्स्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रित सबै प्रदर्शन तथा आन्दोलनहरूमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ, सहयोग र समर्थन रहनेसमेत विज्ञप्तिमा उल्लेख छ । 

यस्तै, चिकित्सा व्यवसायी दुर्गा प्रसाईंले समेत चैत १५ गते काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने घोषणा यसअघि नै गरिसकेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘अब निर्णायक समय आइसकेको छ, सबै तयार रहौँ’ भनी आव्हान गर्दै आन्दोलनको तयारीमा जुट्न आग्रह गरिरहेका छन् ।

प्रसाईंले आफ्नो फेसबुक पोस्टमार्फत सम्पूर्ण पीडित, उत्पीडित, राष्ट्रवादी नागरिक, र अन्यायको सामना गरिरहेका वर्गहरूलाई आन्दोलनमा सहभागिता जनाउन आह्वान गरेका छन् । उनले लेखेका छन्, ‘अब निर्णायक समय आएको छ । देश बेच्नेहरूसँग लड्ने समय आइसक्यो । यही चैत्र १५ गते राष्ट्रभक्तिको शक्ति प्रदर्शन गर्नेछौँ ।’

प्रसाईंले राजसंस्था पुनःस्थापना चाहने राजनीतिक दलहरू, देशभरका अभियन्ता, राष्ट्रभक्त नागरिक तथा आन्दोलनमा सहानुभूति राख्ने सबै शक्तिलाई काठमाडौं केन्द्रित आन्दोलनको तयारी गर्न आग्रह गरेका छन् । उनले काठमाडौं, ललितपुर, र भक्तपुरका अभियन्ताहरूलाई उपत्यका नछोड्न निर्देशन दिँदै आन्दोलनको मोडालिटी चाँडै सार्वजनिक गर्ने बताएका छन् । 

उनले लेखका छन्, ‘चैत १५ गतेको लागि तयार रहनुहोस्, हामीले लड्नु छ देश बेचुवाहरूका दलालहरूसँग, बचाउनु छ हाम्रो गौरवशाली नेपाललाई ।’

सोही दिन समाजवादी मोर्चाले समेत राजधानीमा राजावादीको गतिविधिविरुद्ध प्रदर्शन तय गरेको छ । 

माओवादीलगायत चार दल सम्मिलित समाजवादी मोर्चाले १५ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने यसअघि नै घोषणा गरिसकेको छ । नागरिक समाज, संविधानविद्, पूर्वराजदूतसँग अन्तर्क्रिया गरेपछि मोर्चाले प्रदर्शनको घोषणा गरेको हो ।

समावेशी, समानुपातिक प्रणाली र संघीय व्यवस्थामाथि हमला हुन खोजेकाले जनतालाई जानकारी दिन राजधानीमा प्रदर्शन गर्ने निर्णय लिइएको मोर्चाको प्रमुख दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बताउँदै आएका छन् । ‘कसैले संघीय गणतन्त्रमाथि अराजक ढंगले हमला गर्न खोज्छ भने त्यसको जानकारी गराउनु हाम्रो जिम्मेवारी हो,’ उनको भनाइ छ, ‘कसैका विरुद्ध प्रदर्शन गर्न लागेको होइन । प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मोर्चा क्रियाशील छ ।’

मोर्चाका तर्फबाट माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष महिन्द्र राय यादव, नेकपा महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गरेको विज्ञप्तिमा गणतन्त्रवादी शक्तिलाई एकजुट भई ‘प्रतिगमन र प्रतिक्रियावादीको षड्यन्त्र विफल’ पार्न अपिल गरिएको छ । ‘प्रतिगामी र पुनर्उत्थानवादी षड्यन्त्रविरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहम् जिम्मेवारी बन्न गएको’ मोर्चाको निष्कर्ष छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी कार्यान्वयन नहुँदा राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र भएको मोर्चाले जनाएको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मनोमानी, देश एवम् जनताको हितविपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रविरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनर्उत्थानवादी तत्त्वहरू लागिपरेका छन्,’ मोर्चाको विज्ञप्तिमा भनिएको छ, ‘यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ ।’

मोर्चाले कांग्रेस–एमाले गठबन्धन सरकारको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?