जापानमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका कैदीलाई १४ लाख डलर क्षतिपूर्ति

लोकपथ
3k
Shares

एजेन्सी । हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई १४ लाख डलर क्षतिपूर्ति प्रदान गरिएको छ ।

८९ वर्षीय पूर्व बक्सर इवाओ हाकामादा सन् १९६६ मा भएको चार जनाको हत्या प्रकरणमा दोषी ठहरिएका थिए, तर अदालतले पछिल्लो पुनरावलोकनमा उनलाई निर्दोष ठहर गरेको हो ।

 गत वर्ष उनकी बहिनी र अन्य व्यक्तिहरूको निरन्तर अभियानपछि हाकामादाले सफाइ पाएका थिए । 

यो भुक्तानीले इवाओ हाकामादाले चार दशकभन्दा बढी समयसम्म थुनामा बिताएका दिनहरूका लागि प्रतिदिन १२ हजार पाँच सय येन (८३ डलर) का दरले क्षतिपूर्ति प्रदान गरेको छ । 

सिजुओका जिल्ला अदालतको सोमबारको एक निर्णयमा ‘दावीकर्तालाई २१ करोड ७३ लाख ६२ हजार पाँच सय येन प्रदान गरिने’ अदालतका प्रवक्ताले बताए ।

सोही अदालतले सेप्टेम्बरमा हाकामादा पुनः सुनुवाइमा निर्दोष रहेको र प्रहरीले प्रमाणमा छेडछाड गरेको फैसला गरेको थियो ।

हाकामादाले ‘बयान (स्वीकारोक्ति) का लागि जबरजस्ती गर्ने अमानवीय अनुसन्धान’ भोग्नुभएको थियो । यसलाई उनले पछि फिर्ता लिएको अदालतले बताएको छ ।

स्थानीय मिडियाका अनुसार यो अन्तिम रकम यस्ता प्रकारका क्षतिपूर्तिका लागि एक रेकर्ड हो । तर हाकामादाको कानुनी टोलीले पैसाले उनले भोगेको पीडालाई पूरै सम्बोधन गर्न नसक्ने बताएको छ ।

दशकौँको नजरबन्दले–मृत्युदण्डको खतरा निरन्तर बढ्दै जाँदा–हाकामादाको मानसिक स्वास्थ्यमा ठूलो असर पारेको छ । उनका वकिलहरूले उनलाई ‘कल्पनाको संसारमा बाँचिरहेको’ भनेर वर्णन गरेका छन् ।

हाकामादा जापानको युद्धोपरान्त इतिहासमा मृत्युदण्डबाट पुनरावलोकन गरिएका पाँचौँ कैदी हुन् । अघिल्ला सबै चार वटा मामिला पनि निर्दोष ठहरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?