काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
मेयर बालेनले आफ्नो पदीय मर्यादा भुलेको भन्दै सामाजिक सञ्जालमा लाइक बटुल्न सस्तो लोकप्रियताका लागि सरकारविरुद्ध अभिव्यक्ति दिने गरेको ज नाएको छ ।
मेयर बालेनले सोमबार राति प्रमुख प्रशासकीय अधिकृत नपठाए सबैलाई टुकुचामा गाड्दिने चेतावनी दिएका थिए ।
यता युवा संघले आज विज्ञप्ति जारी गर्दै बालेन मदिराको सनकमा आफ्नो अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।
‘…काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्रै शाहको मदिराको सनकमा अवको एक हप्तामा कर्मचारीले तलब नपाए ‘टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्तिप्रति राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटी गम्भीर ध्यानाकर्षण भएको छ । आफ्नो पदीय जिम्मेवारी भुलेर पद र कल्बहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिक सञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन र तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन हामी सचेत गराउँछौँ र कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई कानुनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकायसँग जोडदार माग गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया