काठमाडौं । त्रिभुवन विश्वविद्यालयको त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन फेरि अनिश्चितकालका लागि स्थगित भएको छ। निर्वाचन समितिका अनुसार, क्याम्पसमा मतदानका लागि सहज वातावरण नबनेका कारण निर्वाचन स्थगित गरिएको हो।
यसअघि ५ चैतका लागि तय गरिएको निर्वाचन सम्पन्न हुन नसकेपछि पुनः १३ चैतमा मतदान गराउने निर्णय गरिएको थियो । तर, केही विद्यार्थी समूहले क्याम्पसको मुख्य द्वारमा पुनः तालाबन्दी गरेपछि मतदान सम्भव नभएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिले मंगलबार राति जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय तथा अन्य सम्बद्ध निकायसँगको परामर्शपछि मात्र नयाँ मिति तोकिने छ। अर्को सूचना प्रकाशित नगरेसम्मका लागि मतदान कार्य स्थगित गरिएको छ।’
प्रशासनले विद्यार्थीहरूलाई संयमित रहन आग्रह गर्दै आगामी निर्णय विश्वविद्यालयको परामर्शपछि सार्वजनिक गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया