प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण चैत १९ गतेदेखि

लोकपथ
308
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि थाइल्याण्डको भ्रमण गर्ने भएका छन् । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाने कार्यक्रम तय भएको हो ।

यही चैत २२ गते बैंककमा बिमस्टेकको छैटौँ शिखर सम्मेलन सुरु हुँदैछ । प्रधानमन्त्री ओलीबाट थाइल्याण्डका समकक्षी फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो । 

यही चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा विस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत ११ गतेको बैठकले स्वीकृत गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णय अगावै परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायले भ्रमणको तयारीका कामहरु प्रारम्भ गरेको थियो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ढकालले नेपाल र थाइल्याण्डबीच सांस्कृतिक गतिविधि तथा आर्थिक सम्बन्ध थप प्रगाढ बढाउन यस भ्रमणले योगदान गर्ने अपेक्षा गरिएको बताए । उनले बुद्ध धर्मलगायत अन्य सांस्कृतिक र व्यपारिक सम्बन्धले दुई देशबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरे ।

मन्त्रिपरिषद्को बैठकले नेपाल र थाइल्याण्डबीच हस्ताक्षर हुने ‘कल्चरल एग्रिमेन्ट विटविन द गभर्मेन्ट अफ नेपाल एन्ड द गभर्मेन्ट अफ किङ्डम अफ थाइल्याण्ड’ विषयको सम्झौता स्वीकृत गरेको छ । 

यस्तै नेपाल सरकार र थाइल्याण्ड सरकारबीच हस्ताक्षर हुने पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी ‘मेमोरेन्डम अफ अन्डस्ट्यान्डीङ (एमओयु) विटविन द मिनिस्ट्री अफ कल्चर, टुरिजम एन्ड सिभिल एभिएसन अफ द गभर्मेन्ट अफ नेपाल एन्ड द मिनिस्ट्री अफ टुरिज्म एन्ड स्पोर्टस् अफ द किङ्डम अफ थाइल्यान्ड अन टुरिज्म कोपरेसन’ विषयक समझदारीपत्र स्वीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?