काठमाडौं । आधा घण्टाको लागि स्थगित गरिएको प्रतिनिधि सभा बैठक ३ घण्टा हुँदा समेत बस्न सकेको छैन ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरुको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित गरिएको थियो ।
सोमबार सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएसँगै विपक्षी दलहरु आक्रोशित बनेका थिए । आज प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै विपक्षीहरुले विरोध गरे । त्यसपछि आधा घण्टाको लागि स्थगित बैठक अझैसम्म सुरु हुन नसकेको हो ।
विपक्षी दलहरु नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सभामुख देवराज घिमिरेसँग छलफलमा जुटिरहेका छन् । विपक्षीहरुले प्रधानमन्त्रीले नै सो विषयमा जवाफ दिनुपर्ने अडान कायम राखिरहेको छन् । तर सत्तापक्षले भने कुलमान हटाउन प्रस्ताव लैजाने उर्जामन्त्री दिपक खड्काले जवाफ दिने सर्त अघि सारेपनि विपक्षीहरुले नमान्दा बैठक बस्न नसकेको हो ।
विपक्षीहरुको विरोधपछि बिहान ११ः५३ बजे प्रतिनिधि सभा बैठक स्थगित गरिएको थियो । सरकारले कुलमानलाई हटाएसँगै सडकदेखि सदनसम्म त्यसको विरोध भइरहेको छ ।
कुलमान हटाएको विरोधमा आजको राष्ट्रिय सभा बैठक समेत प्रभावित बनेको छ । १५ मिनेटका लागि बैठक स्थगित गरिएकोमा अझैसम्म बस्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया