काठमाडौं । संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्र र पाचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिले एकअर्काका दुस्मन जस्ता देखिएका छन् ।
राजतन्त्रको वकालत गर्ने राप्रपा र गणतन्त्रको वकालत गर्ने माओवादी केन्द्र दुवैले आन्दोलनको समेत घोषणा गरिसकेका छन् ।
आगामी चैत १५ गते माओवादी केन्द्रको नेतृत्वमा केही कम्युनिष्ट घटक दलहरु गणतान्त्रिक व्यवस्थाको पक्षमा आन्दोलन गर्दैछन् । यता राप्रपाको समेत समर्थन रहेको राजावादी पक्षधरहरुको आन्दोलन समेत सोही दिन हुँदैछ ।
राजावादीहरुले १५ गतेका लागि आन्दोलन तोकेपछि माओवादीले पनि त्यसलाई काउन्टर दिन सोही दिन नै आन्दोलनको घोषणा गरेको हो ।
नेपाली जनताले एकपटक फालिसकेको राजतन्त्र पुनः ब्यूतिन नसक्ने माओवादी केन्द्रको दाबी छ । यता व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको भन्दै पुनः संवैधानिक राजतन्त्र चाहिने आवश्यक्ता महसुस भएको राजतन्त्रवादीको दाबी रहेको छ ।
गत फागुन २५ गते पूर्व राजा ज्ञानेन्द्र शाहको पोखराबाट फिर्ता हुँदा विमानस्थलदेखि निर्मलनिवाससम्म स्वागतमा हजारौँ मानिसहरु देखिँदा राजावादीहरु थप हौसिएका देखिन्छन् । यता सोही भीडबाट त्रसिएको माओवादीले राजावादीलाई काउन्टर दिने तयारी गरेको छ ।
१० वर्ष सशस्त्र द्धन्द गरेर आएको माओवादीले अहिलेसम्म गणतन्त्र आफूहरुको पहलकदमीमा आएको भन्दै त्यसको रक्षा समेत आफूहरुले मात्रै गर्न सक्ने दाबी गर्दै आइरहेको छ । दुवैको आ–आफ्नै तर्क र शक्तिप्रदर्शनको तयारीले संसद्को विपक्षी बेच्नमा रहेका दुवै दल अहिले एक अर्काका विरोधी जस्ता देखिन्छन् ।
वर्तमान व्यवस्थाको पक्ष र विपक्षका सवालमा फरक–फरक कित्तामा उभिएका उनीहरु बुधबारको संसद् बैठकमा भने एकै मुद्दामा केन्द्रित देखिए ।
कुलमान प्रकरणमा माओवादी–राप्रपा एकैठाउँमा
गत सोमबार सरकारले नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गर्यो ।
त्यसको अहिले चौतर्फी विरोध भइरहेका छन् । मंगलबार दिउँसोबाट भएको सडक आन्दोलन बुधबारसम्म पनि कायम छ ।
आज संघीय संसद्का दुवै सदनको बैठकमा समेत त्यसको असर देखियो । एकअर्काबीच शिद्धान्त र विचारको लडाईँमा होमिन लागेका माओवादी–राप्रपा भने संसद्मा कुलमान प्रकरणमा भने एकै ठाउँमा देखिएका छन् ।
आजको बैठकमा दुवैले कुलमानलाई सरकारले हटाएको विरोध जनाए । आज बसेको विपक्षी दलको बैठकमा राप्रपालाई नबोलाइए पनि संसद्मा माओवादी लगायतका दलहरुको विरोधमा राप्रपा पनि मिसिन पुग्यो ।
संसद्को विपक्षी बेञ्चमा बसेको राप्रपा र माओवादी लगायतका दलहरुको एकमतका साथ सरकारको विरोध भएप्छि आजको प्रतिनिधि सभा बैठक नै स्थगित भएको छ ।
यता संसद् भवन बाहिर माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई पक्षको एजेण्डा नमिलेका कारण विपक्षी दलको बैठकमा नबोलाएको बताए ।
‘उहाँहरुको एजेण्डा र हाम्रो एजेण्डा फरक भएकाले हो । तर, अहिले उहाँ पनि विरोधमा हुनुहुन्छ । हामी अहिले मिलेकै छौँ । कुरा गरेकै छौँ,’ उनले भने ।
त्यसो त आजको बैठकलाई गणतन्त्र पक्षधरको बैठक रहेको माओवादी नेताहरुको तर्क रहेको छ । सडकमा एकअर्काबीच शक्ति प्रदर्शन गर्न जोडबल लगाइरहेका दुई दल भने संसद्मा कुलमान प्रकरणबारे भने एकअर्काको सारथी जस्ता देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया