काठमाडौं । सुनसरीको इटहरीस्थित व्यापारिक भवन सेन्ट्रल प्लाजामा भएको आगलागी दिउँसो ३ बजेर १० मिनेट जाँदा नियन्त्रणमा आएको छ । प्लाजामा बिहान साढे ९ बजेदेखि आगलागी भएको थियो । आगलागी भएको करिब साढे ६ घण्टामा नियन्त्रणमा ल्याउन सफल भएको हो ।
आगलागी नियन्त्रणका लागि १२ वटा दमकलसहित ठूलो संख्यामा सुरक्षाकर्मी र स्थानीयवासी परिचालन भएका थिए । आगलागीको कारण भने खुल्न सकेको छैन । प्लाजाको चौथो तलामा आगलागी भएको थियो ।
सोही प्लाजाको सातौँ तलामा फसेका ३ महिला र आठ पुरुषको उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये एकजना सामान्य घाइते भएका थिए । यस्तै, उद्धारमा खटिएका ७ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । नेपाल प्रहरीका ५, सशस्त्र प्रहरीका १ र नेपाली सेनाका एक जना सामान्य घाइते भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया