एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने कार तथा कारका पार्टपुर्जामा २५% को नयाँ आयात कर घोषणा गरेका छन् । जसले विश्वव्यापी व्यापार युद्ध थप चर्किन सक्ने खतरा बढाएको छ।
यो नयाँ कर अप्रिल २ बाट लागू हुनेछ, जसअनुसार त्यसपछि आयात गरिने सवारी साधनहरूमा शुल्क लाग्ने बीबीसीले जनाएको छ । कारका पार्टपुर्जामा भने मे महिनामा कर लाग्ने व्यवस्था गरिएको छ। राष्ट्रपतिले यो निर्णयले अमेरिकी कार उद्योगलाई ‘ठूलो वृद्धि’ दिलाउने दाबी गर्दै, रोजगारी र लगानीमा वृद्धि हुने आशा व्यक्त गरेका छन्।
तर विश्लेषकहरूले भने यो कदमले अमेरिकामा कार उत्पादन अस्थायी रूपमा बन्द हुन सक्ने बताएका छन् उपभोक्ताहरूका लागि मूल्य बढ्ने र सहयोगी राष्ट्रहरूसँगको व्यापार सम्बन्ध बिग्रन सक्ने चेतावनी दिएका छन्।
गत वर्ष अमेरिकाले करिब ८० लाख कार आयात गरेको थियो । जसको कुल मूल्य २४० अर्ब डलर थियो । यसले देशको कुल कार बिक्रीको करिब आधा हिस्सा ओगटेको थियो । प्रमुख आपूर्तिकर्ता मुलुकहरूमा मेक्सिको, दक्षिण कोरिया, जापान, क्यानडा, र जर्मनी पर्छन्।
विशेषगरी, ट्रम्पको पछिल्लो निर्णयले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत सञ्चालन हुने कार कम्पनीहरूलाई प्रत्यक्ष असर पार्नेछ । जसले अमेरिका, मेक्सिको, र क्यानडाबीचको लामो समयदेखि कायम व्यापारिक सम्बन्धलाई प्रभावित गर्ने देखिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया