हेटौँडामा देवरले गरे भाउजुको हत्या, दाइमाथि खुकुरी प्रहार

लोकपथ
6.3k
Shares

काठमाडौं । हेटौँडामा पारिवारिक विवादका कारण ३५ वर्षीया महिलाको हत्या भएको छ। आफ्नै देवरको खुकुरी प्रहारबाट गुडिया दासको हत्या भएको हो ।

बुधबार राति  हेटौँडा उपमहानगरपालिका-१ चौकी टोलस्थित आफ्नै घरको दोस्रो तलामा गुडिया मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार उनको टाउकोमा गहिरो चोट लागेको थियो।

घटनामा संलग्न रहेको आरोपमा मृतकका कान्छा देवर २३ वर्षीय राहुल भनिने रमेश दासलाई प्रहरीले खुकुरीसहित पक्राउ गरेको छ। रमेश दासले आफ्ना माइलो दाजु, २८ वर्षीय रुपेश दासमाथि पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्।

घाइते रुपेशको टाउको, दाहिने हात र करङमा गम्भीर चोट लागेको र अहिले मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार घटनाको सही कारण अझै स्पष्ट नभए पनि यो घरायसी विवादकै कारण भएको आशंका गरिएको छ। मृतकका श्रीमान् रोशन दास रोजगारीका लागि कतारमा रहेका छन् भने उनीहरूका तीन जना सन्तान छन् ।

 घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?