काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण मातहतको काठमाडौं कार्यालयले विधि मिचेर बनाइएका संरचना हटाउन एक्सन लिन थालेको छ ।
बिहीबार प्राधिकरणका नायव विकास आयुक्त नवराज प्याकुरेलको बानेश्वरमा रहेको घर मापदण्ड विपरीत रहेको भन्दै प्राधिकरणकै कर्मचारीले डोजर चलाएका हुन् ।
काठमाडौं महानगरपालिका वडा नं ३१ स्थित संसद् भवनको ठ्याक्कै पछाडि रहेको एकता टोलको प्रवेशद्वारमै प्याकुरेलको घर रहेको छ । एकता टोलभित्र ८ मिटरको बाटो हुनुपर्नेमा उनको घरले नै सडक मिचेको पाइएपछि प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त ईन्जिनियर सुभाष बस्नेत डोजर लिएर त्यहाँ पुगेका थिए ।
बस्नेत नेतृत्वमा पुगेको टोलीले प्याकुरेलको घरमै डोजर चलाएको थियो । यसअघि पनि प्राधिकरणको टोलीले पटकपटक प्याकुरेललाई हालको मापदण्ड अनुसार हुने गरी अगाडि रहेको सटर भत्काउन ताकेता गरिरहेको थियो । तर आफैँ प्राधिकरणको प्रमुख पदमा रहेका उनले आफ्नो पदको दुरुपयोग गर्दै कहिले स्थानीयलाई उचाल्ने त र कहिले मुद्दा मामिला गरेर अड्काउने गर्दै आइरहेका थिए ।
प्याकुरेलले उक्त घरको भुइँ तलामा केही सटरहरु भाडामा दिएका छन् । मदिरा पसल, सानो होटल र स्टेशनरी रहेकोमा प्राधिकरणको टोलीले तीनै वटा सटर, जसले सडक मिचेका छन् तिनीहरुमा डोजर चलाउने प्रयास गरेको थियो । तर व्यापारी र स्थानीयको विरोधपछि भने डोजर फर्किएको छ ।
यता प्याकुरेल भने आफूले जीएलडी (गाइडेड ल्याण्ड प्लानिङ) लागू हुनुभन्दा पहिले नै उक्त घर बनाएको दाबी गर्र्दै आइरहेका छन् । उनी प्राधिकरणमा नायब आयुक्त भएपछि नै स्थानीयलाई असर पर्ने भन्दै साविकको मापदण्डमा ८ मिटर रहेको एकता टोलको सडकलाई ६ मिटरमा झारेर मापदण्ड तयार पारेका समेत आरोप लाग्ने गरेको छ ।
उनी आफैँ त्यहाँ कार्यरत रहेका कारण पनि स्थानीसँग मिलेर अरुको घर जोगाउने बहाना देखाएर वर्षौँदेखि आफ्नै घर जोगाइरहेको कतिपयको आरोप छ ।
यता प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त बस्नेतले भने आफू काठमाडौं उपत्यकामा हडपिएका दशैँ हजार रोपनी जग्गा सरकारको नाममा ल्याउने तयारीका साथ अघि बढेको पत्रकार सम्मेलनमार्फत जानकारी दिए । साथै अवैध रुपमा प्लटिङ रोक्ने काम भइरहेको र आगामी दिनमा काठमाडौं उपत्यकामा हडपिएका सरकारी जग्गा समेत सरकारको नाममा ल्याउने तयारीका साथ अघि बढिरहेको बताए ।
बस्नेतले यसअघि नै लामो समय खोल्न नसकिएको बानेश्वरकै जीएलडी मापदण्ड विपरीतका केही सडक खुलाएका छन् ।
शक्तिशाली व्यक्तिहरुको कब्जामा रहेको सडकलाई बस्नेत नेतृत्वको काठमाडौं कार्यालयले केही समय अगाडि मात्रै खुला गराएको थियो । त्यसबाहेकका अन्य भित्री बाटोमा रहेका जीएलडी सडक खोल्ने कार्यमा बस्नेतले तीव्रता दिँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया