स्ववियु निर्वाचनको माग गर्दै आज पनि ग्रामीण क्याम्पसमा रिले अनसन निरन्तर

लोकपथ
525
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारमा रहेको ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सुरु गरेको रिले अनसन दोस्रो दिन पनि जारी छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुनिस्चितताको माग गर्दै बुधबारबाट नेविसंघले रिले अनसन सुरु गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयले गत चैत ५ गतेका लागि स्ववियु निर्वाचन तोकिएकोमा सबै तयारी पूरा हुँदा समेत विभिन्न बहानामा निर्वाचन रोकिएको थियो ।

हिजो नेविसंघबाट ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार सुल्तान मियाँ रिले अनसनमा बसेका थिए ।

पनि रिले अनसनलाई निरन्तरता दिँदै नेविसंघका नेतृद्वय सरिता दाहाल (सरु) र दीपा वस्ती अनसनमा बसेको ग्रामीण आदर्श बहुमुखी क्याम्पस नेविसंघका इकाइ अध्यक्ष महेशमणी पौडेलले जानकारी दिए ।

नेविसंघले निर्वाचन जित्ने भएसँगै विभिन्न बहानामा निर्वाचन रोकिएको र त्यसको सुनिश्चितताको माग गर्दै रिले अनसन सुरु गरिएको पौडेलले बताए ।

स्ववियु निर्वाचन सुनिश्चित गर्न, कार्यतालिका सार्वजनिक गर्नेसहित स्ववियु निर्वाचन निर्देशिका कार्यान्वयन गर्दै विद्यार्थीको मताधिकार सुनिश्चित गर्न समेत माग गरिएको छ ।

यी मागहरु पूरागरि छिटोभन्दा छिटो स्ववियु निर्वाचन सुनिश्चित नभएमा आफूहरु आमरण अनसन बस्न समेत बाध्य हुने स्ववियु सभापतिका उम्मेदवार सुल्तान मियाँले बताए ।

‘हामी स्ववियु निर्वाचन चाहान्छौँ । यदी हाम्रो मागलाई बेवास्ता गरियो, हाम्रो रिले अनसनलाई कमजोर सोचेर निर्वाचन नगर्ने प्रपञ्च रचियो भने हामी भोलिका दिनमा आमरण अनसन समेत बस्ने चेतावनी दिन्छौँ,’ मियाँले भने ।

लामो विरासत बोकेको ग्रामीण आदर्श बहुमुख क्याम्पसमा गत २०६५ सालदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । यस वर्ष निर्वाचनको सम्पूर्ण तयारी हुँदा समेत क्याम्पस प्रशासनले नै निर्वाचन गराउन नचाहेको नेविसंघको आरोप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?