कांग्रेसका मधेस प्रदेश सांसदद्वारा पदीय आडमा जनकपुरधामस्थित मठ मन्दिरको जग्गा कब्जा 

लोकपथ
357
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका मधेस प्रदेश सांसद जंगीलाल राय यादवले पदीय आडमा जनकपुरधामस्थित मठ मन्दिरको जग्गा कब्जा गरेको आरोप लागेको छ ।  

दाताहरुले मठ मन्दिरको पूजाआजका लागि दान गर्ने जग्गा मठ मन्दिरका महन्थहरुबाट उच्च पदस्थ व्यक्तिहरुले कब्जा गर्ने जनकपुरधामको यो कुनै नौलो घटना होइन । यसअघि पनि सांसद, मन्त्री र कर्मचारीहरुले मठ मन्दिर र गुठीको जग्गा कब्जा गरिसकेका छन् । सांसद रायले आफ्नो छोरा अमित यादवको नाममा मनखप भनी जनकपुरधाम वडा नम्बर १४ स्थित विहार कुण्ड मन्दिरका जग्गा कब्जा गरेको आरोप स्थनीयहरु र महन्थहरुले लगाएका छन् । जनकपुरधाम ८ स्थित विहार कुण्ड मन्दिरको वडा नम्बर १४ प्रहरी चौकी नजिक रहेको जग्गा सांसद रायको नाममा मन्दिरका महन्थ रामसागर दासले करोडौँको जग्गा मनखप भनी कागज गरिदिएका छन् । अमितले सो जग्गामा अहिले अस्पताल बनाउने निर्माण गर्ने कार्य सुरु गरेका छन् । 

अस्पताल निर्माण गर्न जग्गामा माटो भर्न लाग्दा स्थानीयवासीले मन्दिरको जग्गा व्यक्तिगत व्यवसायिक प्रयोजनमा नभई सार्वजनिक कार्यमा प्रयोग हुनुपर्ने भन्दै विरोध जनाएपछि घटना बाहिरिएको हो । स्थानीयले विरोध गर्न खोज्दा बुधबारदेखि नै विवाद हुँदै आएको छ । स्थानीयवासीले नजिकै रहेका जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन समेत दिएका छन् । 

जिप्रका धनुषाले सो निवेदनमा के कसो बुझेर कारबाही प्रक्रिया अघि बढाउने निर्देशन दिएपनि स्थानीय प्रहरी चौकीले विपक्षीसँग आर्थिक लेनदेनको आधारमा केही नगरी मौन बसेको स्थानीय दीपक पटेलले बताए । 

अर्का स्थानीय गिरिशचन्द्र यादवले मन्दिरको जग्गामा सार्वजनिक काम हुनुपर्ने बताएका छन् । अहिले उक्त जग्गा व्यक्तिगत व्यवसायिक प्रयोजनका लागि प्रयोग गरिएको बताए । प्रहरीले कारबाही प्रक्रिया अघि नबढाए पनि आफूहरु मौन नबसी न्यायालयसम्म पुग्ने बताए । 

घटनास्थलमा पत्रकारहरु गई जग्गाको बारेमा बुझ्न खोज्दा अमित यादवले आफूले जग्गा लिजमा लिएको र आफ्नो जग्गा भएको बताए । उनले आफूले कुनै कागजात नदिने भन्दै कसले के गर्न सक्छ गर्न चुनौती दिए । 

सिट नं. १२७५—२४ को कि.नं. ३० को ६ कट्ठा ५ धुर ३ कनमा मध्ये ४ कट्ठा एक धुर जग्गा वार्षिक मात्र ४० किलो धान मनपखमा दिने भनी अमितसँग २०६८ साल फागुन १६ गते विहार कुण्ड मन्दिरका महन्थ रामसागर दासले सम्झौता गरेका छन् । बाँकी रहेका २ कट्ठा ४ धुर जग्गा पनि रामविनोद भन्ने व्यक्तिलाई दिएका छन् । 

तर वास्तवमा मनखन भनी दिइएको जग्गा मन्दिरका महन्थले सो बेला २०/२२ लाख रुपैयाँ बिक्री नै गरेको भन्ने कुरा महन्थ रामसागर दासले खुलाएका छन् । पत्रकारहरुसँग कुरा गर्दै महन्थ रामसागरले भने मन्दिरको जग्गा बेच्ने कानुनी प्रावधान नरहेको हुँदा मनखप भनी २०/२२ लाख रुपैयाँ वर्तमान प्रदेश सांसद जंगीलाल राय यादवको छोरासँग बिक्री गरेको हो । 

मनखप भनी दिइएको जग्गामा घर निर्माण गर्न पाइन्छ भन्ने पत्रकारहरुको जिज्ञासामा महन्थ रामसागरले भने पूरा जनकपुर नै मठ मन्दिरको जग्गामा कोही मनखप त कोही मोहियानी भनेर बसेका छन् । अहिले सो क्षेत्र बस्ती भएका कारण त्यसमा घर बनाओस् कि, विद्यालय वा अस्पताल त्योसँग मेरो के सरोकार भन्दै तर्किए । 

अमितले सो जग्गामा पर्खाल निर्माण गर्न जनकपुरधाम उपमहानगरपालिकासँग २०७३ साल पुस महिनामै इजाजत पनि लिइसकेका छन् । अमितले सोही बेलादेखि कयौँ पटक त्यसमा पर्खाल निर्माण खोज्दा स्थानीयको अवरोधपछि निर्माण गर्न सकेका थिएन । तर यस पटक कांग्रेस संघ, प्रदेश दुवै सरकार र बुवा प्रदेश सांसद भएपछि त्यसको फाइदा उठाउँदै सरकार, प्रहरी र उपमहानगरलाई प्रभावमा पारेर बाउन्सर समेत लगाई पर्खाल निर्माण कार्य अघि बढाएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?