काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान हटाउने निर्णयको स्पष्टीकरण नदिएसम्म बैठक चल्न नदिने अडान विपक्षी दलहरूले राखिरहेका छन् । सोही अडानका कारण प्रतिनिधि सभा बैठक बस्न सकिरहेको छैन ।
सभामुख देवराज घिमिरेले संसद भवन नयाँ बानेश्वरमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग गरिरहेको छलफल पनि टुंगोमा पुग्न सकिरहेको छैन । सभामुख घिमिरेले प्रतिनिधिसभामा जारी अवरोध खुलाउने गरी प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । उनले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरूसँग छलफल गरिरहेको सभामुखको सचिवालयले जनाएको छ ।
बुधबार र बिहीबार सभाको कामकारबाही अगाडि बढ्न नसकेपछि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । बुधबारको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै गर्न सकेको थिएन भने बिहीबार बस्दै नबसी स्थगित भएको थियो ।
विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै आएका छन् । प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान छ । तर सभामुखको सचिवालयले भने अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना नरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया