काठमाडौं । काठमाडौं उपत्यकामा आज हुन गइरहेको गणतन्त्रवादी र राजावादीको प्रदर्शनमा प्रदर्शनकारीले ‘अनावश्यक’ फोन नगरुन् भनेर कल सम्पर्क टावरमा अवरोध गर्ने उद्देश्यले जामरको प्रयोग गरिने भएको छ । साथै भीड नियन्त्रणका निम्ति ‘वाटर क्यानन’ तयारी अवस्थामा राखेको छ ।
जिल्ला सुरक्षा समितिले राजावादीलाई कार्यक्रमका निम्ति तीनकुने र गणतन्त्रवादीलाई प्रदर्शनीमार्ग (भृकुटीमण्डप)को स्थान उपलब्ध गराएको छ ।
गणतन्त्रवादीको प्रदर्शनको नेतृत्व समाजवादी मोर्चा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले गरेका छन् । उता, राजावादीको प्रदर्शनको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । आजको प्रदर्शनको ‘कमान्डर’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ ।
प्रहरीले गणतन्त्रवादीभन्दा राजावादीको प्रदर्शन अराजक हुन सक्ने आंकलन गरिएको छ । उनीहरूलाई तीनकुनेबाट बानेश्वरतर्फ अघि बढ्न नदिने योजनासहित सुरक्षा टोली खटाइएको छ ।
राजावादी र गणतन्त्रवादीको दुई छुट्टाछुट्टै प्रदर्शनलाई लिएर बिहानैबाट सवारी डाइभर्सन गरिएको छ ।
उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार, बिहानैदेखि सवारी जाम हुनसक्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि आज एक हजार ८०० ट्राफिक प्रहरी खटाइएको छ ।
गणतन्त्र पक्षधर समाजवादी मोर्चा र व्यवस्था उल्टाउन लागिपरेका पूर्वराजा समर्थकले आयोजना गर्न लागेको प्रदर्शनमा एकअर्कासँगको भेट हुन नदिने नीति प्रशासनले अख्तियार गरेको छ । परस्पर विरोधी दुई पक्षको भेट हुँदा अप्रिय घटना हुनसक्ने भन्दै प्रशासनले यो रणनीति अख्तियार गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया