काठमाडौं । राजावादीको प्रदर्शनमा सहभागी हुन दुर्गा प्रसाईं भर्खरै भक्तपुरको सानोठिमीस्थित निवासबाट निस्किएका छन् । छोरीको हातबाट सगुन खाएर निस्किएका उनले त्यसबेला परिवारका सदस्यलाई आफू फर्किने/नफर्किने कुनै निश्चित नभएको समेत बताएका छन् ।
राजावादीले आज दिउँसो काठमाडौैको तीनकुनेमा प्रदर्शन गर्दैछ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले सबैभन्दा पहिला आज काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेको थियो । आजको प्रदर्शनमा अन्य राजावादी दल पनि जोडिँदै गएका छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंसँगै मिलेर प्रदर्शन गर्ने बताइसकेको छ । यति मात्र नभई सुवेदी नेतृत्वको समितिले आजको प्रदर्शनको कमान्डर नै प्रसाईंलाई तोकेको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयोजक सुवेदीले प्रसाईं समूहले शुक्रबार गर्ने प्रदर्शनलाई समितिले समर्थन गर्ने र शुक्रबारदेखि नै आन्दोलन सुरु हुने घोषणा गरेका थिए । प्रसाईंलाई जनकमान्डर घोषणा गर्न आयोजित कार्यक्रममा राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवलशमशेर राणा उपस्थित थिए । लोहनी र राणा मञ्चमा बसेका थिए भने पाण्डे फ्लोरमा बसेका थिए ।
राप्रपाले पनि केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमै राजसंस्था पुनः स्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरिसकेको छ । १२ चैतमा आन्दोलन परिचालन मूल समिति बैठक गरेर राप्रपाले २६ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने र ७ बैशाखदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने घोषणा गरिसकेको छ । राप्रपाले राजसंस्था पुनः स्थापनाका लागि यसअघि हुने आन्दोलनलाई समर्थन गर्ने निर्णयसमेत गरिसकेको छ । राप्रपाले ‘समान उद्देश्य र विचार भएका राजनीतिक दल, संयुक्त जनआन्दोलन समिति, विभिन्न संघ संगठनहरूसँग सहकार्य, कार्यगत एकता वा मोर्चा गठन गरी आन्दोलनका कार्य अघि बढाइने’ निर्णय गरेको थियो । त्यसैले आजको प्रदर्शनमा पनि राप्रपाको सक्रिय उपस्थिति हुने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया