काठमाडौं । उर्लाबारी नगरपालिका हङकङ परिवारले राष्ट्रिय योग प्रतियोगिताका विजेता नमुना बाल गृहका खेलाडीहरूलाई नगद ३ लाख रुपैयाँ सहयोग गरेको छ। काठमाडौं टोखामा सम्पन्न छैटौँ राष्ट्रिय योग प्रतियोगितामा स्वर्ण र रजत पदक जिती अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका ५ जना खेलाडीलाई उक्त रकम प्रदान गरिएको हो ।
राष्ट्रिय योग प्रतियोगितामा स्वर्ण पदक जित्ने किरण मगर, स्वेच्छा थापा तथा रजत पदक प्राप्त गर्ने सुन्दर कार्की, चाँदनी परिवार, र जय चौधरी आगामी चैत २६ र २७ गते मलेसियामा आयोजना हुने १६औँ अन्तर्राष्ट्रिय योग प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुँदैछन् । प्रतियोगितामा सहभागिता जनाउन आवश्यक व्यवस्थापन खर्च स्वरूप उक्त सहयोग रकम प्रदान गरिएको हो ।
उर्लाबारी नगरपालिका हङकङ परिवारका नेपाल प्रतिनिधि तथा उर्लाबारी-९ का वडा अध्यक्ष नरबहादुर मोक्तान र परिवारका सदस्य सुजन सेन्दाङले उक्त सहयोग रकम नमुना बाल गृहका संस्थापक सदस्य अतिहिरा राईलाई हस्तान्तरण गरे । सहयोग रकम संकलन तथा व्यवस्थापनमा उर्लाबारी नगरपालिका हङकङ परिवारका अध्यक्ष साङ्गेनाहाङ तुम्बाहाम्फे, सदस्य राकेश राई लगायतले विशेष पहल गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्य सन्तोष श्रेष्ठ, स्थानीय समाजसेवी विमला पोमु, गणेश किम्दाङ, शुक्रराज कन्दङ्वा, सानु तामाङ, विष्णु चोङबाङ लगायतको उपस्थिति रहेको थियो ।
एक महिना अघि काठमाडौंको टोखामा सम्पन्न राष्ट्रिय योग प्रतियोगितामा उर्लाबारी-७ नमुना बाल गृहका नानीबाबुहरूले २ स्वर्ण, ३ रजत, र १ कांस्य पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनीहरूले अब मलेसियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई गौरवान्वित पार्ने लक्ष्य राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया