काठमाडौं । संसद् अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को १८ गतेको बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबार सभामुख देवराज घिमिरेसहित बसेको प्रमुख प्रतिपक्ष, प्रष्पिक्ष दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरु बीचको छलफलबाट यो सहमति जुटेको हो ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको थियो । बर्खास्तीसँगै प्रतिपक्ष दलहरुले सदनमा अवरोध सिर्जना गर्दै संसद् अवरुद्ध पारेका छन् ।
उनीहरुले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ दिएपछि मात्रै सदनको अवरोध हटाउने बताएका छन् । सरकार पक्षले भने सम्बन्धित मन्त्री र उपप्रधानमन्त्रीले सरकारको तर्फबाट उक्त विषयमा जवाफ दिने प्रस्ताव गरेको थियो । तर प्रतिपक्ष दलहरुले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै संसद् अवरुद्ध पार्दै आएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा १८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र आइतबार बस्ने बैठक सहज रुपमा अघि बढ्ने सहमति भएको बताए । उनले प्रतिपक्षी दलहरुको माग बमोजिम नै प्रधानमन्त्री ओलीले जवाफ दिने सहमति गर्दा समेत आजको बैठक बस्नबाट प्रतिपक्ष दलहरुले आनाकानी गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया