काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अर्थ मन्त्रालयले बजेटको तयारी तीव्र पारिरहेका बेला विज्ञहरुले भने ठूलो आकारको बजेट नबनाउन सुझाव दिएका छन् । राजश्व बढ्न नसकेको र अहिले वैदेशिक स्रोतमा पनि भारी गिरावट आइरहेकाले संयमतापूर्वक बजेट ल्याउन उनीहरुले सरकारलाई भनेका हुन् ।
नेपाल जनप्रशासन संघले आयोजना गरेको सरकारको नीति तथा कार्यक्रम, बजेट र आर्थिक सुधार : अपेक्षा र सम्भावनाहरुका बारेमा आयोजित कार्यक्रममा अर्थविद् डा. पोषराज पाण्डेले पछिल्लो पाँच वर्षको आम्दानीको अवस्थालाई विश्लेषण गर्दा यो वर्ष ११ खर्ब ५० अर्बसम्म राजश्व उठ्न सक्ने बताए । उनकाअनुसार यस आधारमा अर्को वर्ष साढे १२ खर्ब राजश्व उठ्न सक्ने देखिन्छ ।
उनकाअनुसार नियामक निकायहरुसहित राष्ट्र बैंकसम्मै अहिले एकदमै बदमासी हुने गरेको छ ।, प्रशासनिक क्षमता बढाएर त्यस्ता बदमासीहरुलाई हटाउनुपर्ने पाण्डेले बताए ।
पूर्वमुख्यसचिव डाक्टर विमल कोइरालाले आर्थिक बिस्तार नभएसम्म मुलुकको विकास नहुने बताए । बजारमा माग बढ्न नसकेको, कर्जाको बिस्तार पनि हुन नसकेको उनको भनाइ छ । कोइरालाकाअनुसार मुलुक ग्रेलिस्टमा पर्दा लगानीकर्तामा संशयको स्थिति सिर्जना भएको छ ।
उनकाअनुसार अहिले योजना अयोगले दिएको सिलिङ अवास्तविक छ । विश्व राजनीति परिस्थिति परिवर्तन भएकाले सोही अनुकूलमा आधारित भएर बजेट बनाइनुपर्ने उनले बताए ।
पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटाले कार्यपत्र प्रस्तुत गर्दै योजना आयोगले दिएको १९ खर्ब हाराहारीको सिलिङमा रहेर बजेट ल्याउन उपयुक्त हुने बताए । सिलिङ भन्दा ठूलो आकारको बजेट ल्याइए समस्या हुनसक्छ ।
बाँस्कोटाकाअनुसार चाल आर्थिक वर्षमा राजश्वको प्राप्ति महत्वाकांक्षी राखिएको छ । तर उठ्न सकेको छैन । त्यसले आगामी वर्ष सरकारले ठूलो लक्ष्य राख्न उचित हुँदैन । अब सरकारले करिब ४० प्रतिशत अनौपचारिक क्षेत्र रहेकाले त्यसलाई औपचारिकतातर्फ ल्याउनुपर्ने उनले बताए ।
पूर्वसचिव विद्याधर मल्लिकले सबै सुविधा उद्योगपतिहरुलाई दिइएको बताउँदै त्यसमा सुधार हुन जरुरी रहेको बताए । उनले जनतालाई केन्द्रबिन्दुमा राखेर सहुलियतपूर्ण बजेट ल्याइनुपर्नेमा जोड दिए ।
पूर्व अर्थसचिव मधुकुमार मरासिनीले तल्लो तहमा जाने सशर्त अनुदान पठाउन अब जरुरी नरहेको बताए । उनले अब त्यस्तो अनुदान पठाउन नहुने बताए ।
पुँजीगत खर्चमा विकृति रहेको बताउँदै मरासिनीले यसलाई हटाउन जरुरी रहेको बताए । उनका अनुसार देशलाई प्रतिफल दिने भन्दा पनि भवन निर्माणमा त्यस्तो बजेट खर्च भइरहेको छ ।
मेयर/उपमेयरको नियन्त्रणमा पालिकाहरुले पनि ठूला-ठूला भवन बनाइरहेको बताउँदै मरासिनीले त्यसले राम्रो प्रतिफल नदिने पनि बताए । उनकाअनुसार इभीहरुमा हतार-हतार नीतिहरु खुकुलो गरिँदा राजश्वमा समेत क्षति पुगेको यसमा करेक्सन जरुरी रहेको बताए ।
उनकाअनुसार सरकारको वित्त नीति र मौद्रिक नीतिबीच केही दरार देखिएको छ, मौद्रिक नीतिले सरकारको वित्त नीतिलाई कसिलो पार्नु गलत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया