राजनीतिक अस्थिरता, राजतन्त्रको बहस र संकटमा पर्यटन उद्योग

लोकपथ
966
Shares

रमेश पराजुली

काठमाडौं ।

नेपालको वर्तमान राजनीतिक अस्थिरताले आम नागरिक निराश छन् । पटकपटक सरकार परिवर्तन हुनु, नेताहरूको अकर्मण्यता, भ्रष्टाचार र आर्थिक अन्योलताले गर्दा जनतामा आक्रोश बढ्दो छ। सरकारप्रति विश्वास गुम्दै जाँदा केही समूहहरूले पुनः राजतन्त्र फर्काउने आवाज उठाइरहेका छन्। उनीहरू भन्छन्— ‘राजतन्त्र हुँदा देशमा स्थायित्व थियो, अहिले जस्तो राजनीतिक खिचातानी थिएन ।’

तर के पुनः राजतन्त्र मात्रै नै नेपालको समस्याको समाधानको एकमात्र विकल्प हो त ?

यता राजतन्त्र समर्थकहरूको तर्क आफ्नै छ, भन्छन्— ‘राजा हुँदा देश राम्रो थियो।” तर वास्तविकता के हो ?

राजतन्त्र रहँदा पनि नेपाल संसारकै गरिब देशहरूमध्ये एक थियो । औद्योगिक विकास भएन, आधुनिक पूर्वाधार निर्माण भएन, शिक्षामा लगानी न्यून रह्यो र जनताले राम्रो स्वास्थ्य सेवा पाएनन् । राजतन्त्रको झन्डै २४० वर्षे शासनपछि पनि नेपाल गरिब रहनुको कारण के हो ? यदि राजतन्त्र साँच्चै सक्षम र कुशल शासन व्यवस्था थियो भने, किन नेपालले प्रगति गर्न सकेन ?

राजनीतिक स्थायित्व मात्र पर्याप्त हुँदैन, कुशल नीति, पारदर्शिता, र समावेशी शासन आवश्यक पर्छ ।

लोकतन्त्रको सबैभन्दा ठूलो विशेषता भनेको परिवर्तनको विकल्प सधैं खुला हुनु हो । यदि दुई तिहाइ जनताले चाहन्छन् भने संसदीय प्रक्रियाबाट पुनः राजतन्त्र फर्काउन सकिन्छ । त्यसैले, यदि साँच्चै नेपालका अधिकांश जनता राजतन्त्र चाहन्छन् भने, त्यसको सही बाटो संसद् र निर्वाचन नै हो ।

तर के भइरहेको छ ? शान्तिपूर्ण आन्दोलनको नाममा अराजकता मच्चाइएको छ ।

भाटभटेनीजस्ता व्यापारिक प्रतिष्ठानहरू लुटपाट गरिएका छन् । सञ्चारकर्मीको हत्या गरिएको छ । सरकारी गाडीहरू जलाइएका छन्। के यस्तै गतिविधिले राजतन्त्र फर्कन्छ ?

सरकारी सम्पत्ति जलाउनु भनेको आफ्नै करबाट किनिएको सम्पत्तिलाई नष्ट गर्नु हो । जुन गाडी जलाइयो, जुन भवन तोडफोड गरियो, ती सबै जनताले तिरेको करबाट किनेका हुन्। यस्ता कार्यले राष्ट्रलाई मात्र होइन, हामी सबैलाई घाटा पुर्‍याउँछ ।

पर्यटन उद्योग फेरि संकटमा पार्ने खेल नहोस्

नेपालको पर्यटन उद्योग कोभिड–१९ महामारीपछि बल्ल उठ्दै छ । धेरै वर्षसम्म होटल, ट्रेकिङ, ट्राभल एजेन्सी, एयरलाइन्स सबैले ठूलो नोक्सान बेहोरे । लाखौँ मानिस बेरोजगार बने । अहिले बल्ल पर्यटकहरू नेपाल फर्किन थालेका छन् । हिमाल आरोहण, पदयात्रा, र साहसिक पर्यटन पुनः चलायमान हुँदैछ ।

तर यदि अहिले हिंसात्मक आन्दोलन, तोडफोड, र अराजकता बढ्दै गयो भने, नेपाल फेरि संकटमा फस्नेछ ।

विदेशी पर्यटकहरू नेपाल आउनुअघि यहाँको राजनीतिक र सुरक्षाको अवस्था हेर्छन् । यदि उनीहरूले हिंसात्मक प्रदर्शन, आगजनी, र अस्थिरता देखे भने, नेपाल भ्रमण गर्ने निर्णय तुरुन्तै परिवर्तन गर्छन् ।

हामी फेरि अर्को संकट सहन सक्ने अवस्थामा छैनौँ । कोभिड–१९ जस्तै अर्को ठूलो झड्का हामीले सहन सक्दैनौँ । यदि पर्यटन उद्योग पुनः तहसनहस भयो भने, लाखौँ मानिस बेरोजगार हुनेछन्, व्यवसायहरू बन्द हुनेछन्, र अर्थतन्त्रमा ठूलो असर पर्नेछ ।

नेपालमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसक्दा वर्तमान व्यवस्था र व्यवस्था परिवर्तनका मुख्य नेतहरुमाथि असन्तुष्टी छ । अवस्था परिवर्तन हुन नसक्दा यो स्वाभाविक देखिन्छ । तर यसको समाधान अराजक आन्दोलन, तोडफोड र हिंसा होइन ।

देश बनाउने जिम्मेवारी केवल नेताहरूको मात्र होइन, हाम्रै पनि हो । हामीले कर तिरेर बनाएको सम्पत्तिलाई जलाएर, उद्योग(धन्दा नष्ट गरेर, पर्यटन तहसनहस पारेर राष्ट्र निर्माण सम्भव छैन ।

नेपालको पर्यटन उद्योग पुनः उठ्दै छ । यदि हामीले शान्ति र स्थायित्व कायम गर्न सक्यौं भने, यसले लाखौं नेपालीलाई रोजगारी दिन सक्छ । हामीले अवसरहरू सिर्जना गर्नुपर्छ, विध्वंस होइन ।

अबको बाटो हिंसा होइन, समृद्धि हो, विकास हो । परिवर्तनको सही तरिका लोकतान्त्रिक प्रक्रिया हो, अराजकता होइन । यदि साँच्चै नेपाल परिवर्तन गर्न चाहन्छौं भने, सबैभन्दा पहिले हाम्रै सोच बदल्नुपर्छ ।

(यो लेखकको निजी विचार हो, पराजुली पर्यटन व्यवसायी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?