प्रदर्शनका नाममा सुनियोजित आक्रमण भयो, कानुनअनुसार कारबाही गर्छौँ : गृहमन्त्री

लोकपथ
315
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरूले गरेको आक्रमण र हत्याको कानुन बमोजिम कारबाही हुने बताएका छन् । 

शनिबार नेकपा एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरूमाथि कानुन बमोजिम अनुसन्धान गरेर कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । 

राजावादीहरूले तीनकुनेमा शुक्रबार गरेको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको छ भने सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड गरिएको छ । आक्रमणकारीहरूले शुक्रबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरी आगो लगाएका थिए । 

सोही अनुगमन एवं निरीक्षणका क्रममा आलोक नगर पुगेका गृहमन्त्री लेखकले शुक्रबारको राजावादीहरूले प्रदर्शनका नाममा गरेको हिंसा राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता,चेतनासँग टाढा टाढाको पनि साइनो नरहेको जिकिर गरे । शुक्रबारको आन्दोलन प्रदर्शन भन्दा बढी आपराधिक घटना भएको बताए ।

आततायी र अमानवीय ढंगले घटना गराइएका भन्दै गृहमन्त्री लेखकले आन्दोलनकारीले मानिसहरू घरभित्र छन् भनेर थाहा हुँदाहुँदै घरमा आगो लगाउँदा एक जना पत्रकारको ज्यान गएको र नागरिकको सुरक्षार्थ प्रहरीले बल प्रयोग गर्दा अर्का एक जनाको निधन भएको बताए । निधन हुनेहरूप्रति दुःख व्यक्त गर्दै उनले घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको गरे । 

गृहमन्त्री लेखकले भने, ‘हिजो जुन प्रदर्शनका नाममा जे कामहरू भएका छन्, यसको राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता,चेतनासँग टाढा टाढाको पनि साइनो छैन । यो अत्यन्त ज्यादा आपराधिक घटना भएको छ । आततायी र अमानवीय ढंगले घटना गराइएका छन् । त्यो पनि फलानो फलानो ठाउँमा आक्रमण गर्ने भनेर घोषणा गर्ने भनेर ती कामहरू भएका छन् । मानिसहरू घरभित्र छन् भनेर थाहा हुँदाहुँदै घरमा आगो लगाइएको छ । एक जना पत्रकारको ज्यान गएको छ । एक जना अर्को मानिसको पनि ज्यान गएको छ । प्रहरीले नागरिकको ज्यानको सुरक्षा गर्नका लागि बल प्रयोग गर्नुपर्ने भयो । त्यसप्रति मेरो दुःख छ । घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सरकारले आवश्यक उपचार गर्दछ । हिजो जुन बर्बरतापूर्वक घटना भएका छन् । सञ्चार गृहमाथि आक्रमण गर्ने, छानिछानि गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताका घरमा, पार्टी कार्यालयमा आक्रमण गर्ने, निजी र सरकारी सम्पत्ति ध्वस्त गर्ने, सपिङ कन्फ्ल्क्सहरुमा आक्रमण गर्ने जुन प्रकृतिको आक्रमण भएको छ । त्यसमा कानुन बमोजिम अनुसन्धान गरेर कारबाही हुन्छ ।’

गृहमन्त्री लेखकले शुक्रबार राजावादीहरूले सञ्चार गृह,छानिछानि गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताका घर र पार्टी कार्यालयमा आक्रमण गर्ने, निजी तथा सरकारी सम्पत्ति ध्वस्त गर्ने, सपिङ कन्फ्ल्क्सहरुमा आक्रमण गरेको बताए । उनीहरूमाथि सरकारले अनुसन्धान गरी कारबाही गर्ने बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?