काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूको षड्यन्त्र समाजवादी मोर्चाले असफल पारेको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।
समाजवादी मोर्चाले ठुलो जनसमुदायबीच विरोध सभा नगरेको भए राजावादीहरूले ठुला आपराधिक घटना गराउने दाबी गरे । उनले आफूले राजावादीहरूले ठुला घटना गराउने योजना बनाएको सूचना पाएको दाबी गरे ।
उनले राजावादीहरूलाई आततायी र विवेक शून्य तत्त्वको संज्ञा दिँदै विगतमा निरंकुस राजतन्त्र सत्तामा हुँदा प्रेसलाई अंकुस लगाउने काम गरेको भन्दै राजावादीहरूको आक्रमणको निशाना पनि प्रेस नै भएको जिकिर गरे । सत्य सूचना प्रवाह गरी अग्रगमन र स्थिरताको चेतना फैलाउने प्रेस जगत प्रतिगामी तत्वसँग सचेत बन्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘निरंकुश राजावादी तत्त्वहरूले तीनकुनेमा एउटा आततायी र विवेक शून्य आपराधिक घटनाहरू घटाउँदै थिए र नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति अग्रमण र पश्चगमन फेरि एकचोटी नयाँ सन्दर्भसहित आपसमा टकराइ रहेका थिए । मैले आज बिहान धेरै मानिसहरूले मलाई सम्पर्क गरेर भन्नुभयो, तीनकुनेका जनताले पनि देशभर हजारौँको संख्यामा जनतालाई नउतारेको भए, लोकतन्त्र र गणतन्त्रप्रतिको आफ्नो कमिटमेन्टलाई नगरेको भए त्यति मात्रै होइन अझ ठुला घटना घटाएर देशमा एउटा प्रतिक्रान्तिलाई त्यसको पराकाष्ठामा पुर्याउने षड्यन्त्र थियो । धेरैको ज्यान बच्यो, धेरै धनजनको क्षति हुनबाट पनि बच्यो । दुई जनाको ज्यान गयो, थुप्रै गाडीहरू घरहरू जलाइए । संघ संस्थाका कार्यालय, पार्टीका कार्यालय जलाइए । तर मलाई जनताले भनेको कुरा बुद्धिजीवीहरुले भनेको कुरा यदि समाजवादी मोर्चाले त्यो स्तरको गणतान्त्रिक शक्तिले त्यो स्तरको प्रदर्शन नगरेको भए आततायीहरूको योजना र रणनीति यो भन्दा भयानक थियो । त्यसलाई रोक्यो भन्नुभएको छ भन्ने कुरा तपाईँहरूसँग राख्न चाहन्छु । हिजोको विवेक शून्य अपराधमा परेर एक जना पत्रकार सुरेश रजकको हत्या भयो घरभित्रै जलाएर हत्या गरियो । हिजो निरञ्कुस सत्ता हुँदा प्रेसमाथि अञ्कुस लगाउने उनीहरूको ध्यान हुन्थ्यो । आक्रमणको निशाना प्रेस नै हुन्थ्यो । ..हिजो राजावादी भन्नेहरुको आक्रमणको निसाना प्रेस नै थियो जसले सत्य तथ्य समाचार संप्रेसन गरेर जनतामा एउटा नयाँ चेतना अग्रगमन, शान्ति, विकास र स्थिरताको समृद्धिको चेतना फैल्याउँछ त्यही नै निरञ्कुसतावादीको सामन्ती तत्त्वहरूको निशाना हुने गर्छ हिजोको घटनाले पनि त्यसलाई प्रष्ट पारेको छ ।’
अध्यक्ष दाहालले गणतन्त्रवादी दलहरुकाले लोकतन्त्रप्रतिको प्रतिबद्धता र संकल्प स्थापित गर्नका लागि ठुलो संख्याको जनसमुदायबीच विरोध सभा गरेर उदाहरण प्रस्तुत गरेको जिकिर गरे । गणतन्त्रमाथि प्रहार भइरहेका बेलामा सरकारमा रहेका दलहरूले आफ्नो क्रियाकलाप सच्याएर गणतन्त्र बलियो बनाउने कार्यमा लाग्नुपर्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया