काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शुक्रबार तीनकुनेमा राजावादीको प्रदर्शनमा भएको घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाह जिम्मेवार रहेको दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित बीपी चिन्तन प्रतिष्ठानको कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका सिटौलाले सो कुरा बताएका हुन् ।
उनले शुक्रबारको तीनकुनेको घटनामा पूर्वराजाको उक्साहट रहेको बताउँदै त्यसको जिम्मेवारी लिँदै जवाफ दिनुपर्ने बताए ।
सिटौलाले भने, ‘हिजो काठमाडौंको कोटेश्वर आसपासमा राजावादीहरुले जे हिंसात्मक र दुःखद घटना घटाए, त्यसप्रति मेरो खेद छ, घटनाको म भत्र्सना गर्दछु, घटना पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा घटेको हो वा होइन ? हो भने उहाँले जिम्मेवारी लिनुपर्छ, होइन भने त्यसको जवाफ दिनुपर्छ ।’
त्यस्तै उनले गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्किँदा विमानस्थलबाट निर्मल निवाससम्म स्वागत गरिएको विषयले नै हिजोको घटना घटाएको दाबी गरे । साथै हिजोको आन्दोलनबारे निर्मल निवासमा छलफल भएको र त्यही बैठकले आन्दोलनलाई थप उत्तेजित पारेको आशंका व्यक्त गरे ।
‘पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्कँदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मल निवास जाँदै गर्दा जुनजुन कुराहरु उठान भएका छन, त्यसको उपज हिजोको घटना हो भन्ने बुझिन्छ, उहाँको निवासमा प्रदर्शनको सञ्चालन र तयारीबारे केही बैठक र छलफल भएका कुरा पनि बाहिर आएका छन्,’ उनले भने ।
सिटौलाले ज्ञानेन्द्रले आफू राजा हुँदा समेत जनतालाई दुख दिएको स्मरण गर्दै आक्रोश व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया