‘ग्राउण्ड जिरो’ तीनकुने : प्रहरी रहेको भन्दै ढुंगा हानिएको घरमा मैले जे देखेँ…

शुक्रबार मध्यान्हपछि काठमाडौंको तीनकुने क्षेत्र अशान्त बन्यो । राजन्त्रवादीहरुले केही समय अघिदेखि आन्दोलनको तयारी गरेका थिए । पूर्व जानकारी अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट जुलुससहित त्यहाँ राजतन्त्रका पक्षधरहरु भेला भए । आन्दोलनका कमाण्डर तोकिएका दुर्गा प्रसाईँ जब कार्यक्रम स्थलमा प्रवेश गरे, त्यसपछि त्यहाँको माहोल अशान्त बन्न पुग्यो ।

गठ्ठाघरमा रहेको आफ्नो निजी निवासबाट मोटरसाइकल र्‍यालीसहित प्रसाईँ तीनकुने आउँदै थिए । आन्दोलनका कमाण्डर प्रदर्शनस्थलमा प्रवेश गरेपछि भीडभाड थप उत्तेजित बन्यो । आफ्नो निजी सुरक्षाकर्मीसहित गाडीमाथि हात हल्लाउँदै त्यहाँ आएका प्रसाईँ जब आफैँ गाडी चलाउन थाले र प्रहरीको सुरक्षा घेरा तोड्दै अघि बढ्न खोजे (प्रसाईँकै गाडीबाट सार्वजनिक भिडियोमा देख्न सकिन्छ) तब माहोल अशान्त बन्यो ।

त्यसपछि…

प्रहरीले चलाएको अश्रुग्यासको पिरो धुँवाले भीड थप तितरवितर भयो, सुरक्षाकर्मीहरु आफ्नो ज्यान जोगाउँदै भीड नियन्त्रणको प्रयासमा थिए भने प्रदर्शनकारी प्रहरीमाथि प्रतिकारमा उत्रिँदा हामी सञ्चारकर्मीहरु त्यहाँको दृश्य कैद गर्न अग्र मोर्चामा थियौँ ।

लोकपथकर्मी दिनेश रजक (आन्दोलन हुँदा आगजनीका क्रममा मारिएका एबीन्यूजकर्मी सुरेश रजकका सहोदर दाई) र म अघि बढ्दै थियौँ । तर अश्रुग्यासको पिरो धुँवाले हाम्रा आँखा पोल्यो, श्वास फेर्नै नसक्ने भएपछि हामी भित्रि गल्लीबाट मुल सडकतर्फ आउदै थियौँ ।

त्यहाँ एक चिया पसलमा रहेका केही राजतन्त्रका समर्थकहरुले हामीलाई बोलाउनुभयो । हामी उहाँहरुले बोलाएको तर्फ जाँदा, त्यहाँ अघि रहेको एक घर देखाउँदै त्यहाँ प्रहरी रहेको र माथिबाट अश्रुग्यास र ढुङ्गा प्रहार गरिरहेको बताउँनुभयो । हामी उहाँहरुकै आग्रह र साथमा त्यसतर्फ गयौँ । दुई वटा घर आमनेसामने थियो, बिचमा केही खाली ठाउँ, दुवै घरको ढोका लगाइएको थियो । मुख्य चोकको पिरो धुँवाले दुई घरको बिचमा समेत बस्न गाह्रो भइरहेको थियो । केही व्यक्तिहरुले घरको ढोकामा लात्तिले हान्दै घरमाथि प्रहरी रहेको आशंकामा ‘…निकाल निकाल’ को आक्रोशमा देखिए ।

घरको तेस्रो तल्लाको बरण्डाबाट एक वृद्ध ‘यहाँ कोही छैन भन्दै हात जोड्दै थिए, बालबालिकाहरु रुँदै छैन छैन’ भन्दै थिए । पछि ती वृद्ध बुबा तल ओर्लिनुभयो, माहोल अशान्त नै थियो, त्यहाँ रहेका दुई बालिकाहरुले हामीलाई, ‘अंकल हाम्रो घरमा कोही पुलिस छैन, हजुरआमा भर्खरै अपरेशन गरेर ल्याइएको छ, भाई पनि बिरामी छ बचाउनुस्’ भन्दै रुँदै थिए । माहोल अशान्त भए पनि केही राजा समर्थकहरुले हामीलाई नम्र व्यवहारका साथ ‘तपाईँहरु माथि गएर प्रहरी छ कि छैन ?’ हेर्नु भन्दै हामीलाई भित्र छिराइदिनुभयो (हामीसँग भिडियो सुरक्षित छ ।) ।

घरपेटी वृद्धको भित्र प्रवेश गर्ने अनुमति दिँदै ‘भित्र हेर्नुस् बाबु तपाईँहरुले कोही छैन’ भन्दै भित्र ल्याउनुभयो र ढोका बन्द गरिदिनुभयो । (जुन भिडियो हामीसँग सुरक्षित छ । हामीसँगै भित्र छिरेका एक जना मानवअधिकारकर्मीले तीन तलासम्म पुगेर त्यहाँ कोही नभएको भन्दै बाहिरिनुभयो र बाहिर रहेका व्यक्तिहरुलाई संयमित बनाउनुभयो । हामी भित्र छिर्दा मुल गेटतर्फ रहेका राजा समर्थकहरु हामीलाई हेरिरहनुभएको थियो । कोही कराइरहनुभएको थियो, कोही संयमित भएर माहोल शान्त पारिरहनुभएको थियो ।

घरभित्र जे देखियो…

‘बाबु तपाईँहरु को हो ? मेरो घरमा किन छिर्नुभएको ? म बिरामी छु…’ भन्दै एक वृद्धा (सायद हामीलाई ढोका खोलिदिने वृद्ध बुबाका श्रीमती हुनुहुन्थ्यो) हामीलाई प्रश्न गर्नुभयो । सहकर्मी दिनेशजी केही बोल्न खोज्दै हुनुहुन्थ्यो, ‘उहाँहरु पत्रकार भाईहरु हुनुहुन्छ यहाँ पुलिस रहेको भनेपछि आउनुभएको’ भन्दै अर्का एकजना (सायद उहाँका छोरा) ले हामीलाई माथि गएर हेर्न भन्नुभयो । हामी सबै तलामा पुग्यौँ, त्यहाँ कोही थिएन । हामी छतसम्म पुग्यौँ । बाहिरबाट घरमा ढुंगामुढा भइरहेको थियो । हामी ढुंगाले छेलिँदै ‘यहाँ प्रहरी छैन, ढुंगा नहान्नुस्’ भन्दै मुख्य घरको छतबाट प्रर्दशनस्थलतर्फ हेर्दै बाहिर चिच्यायौँ ।

अशान्त बनिरहेको माहोलमा कोही प्रदर्शनकारीहरु प्रहरीले प्रहार गरेको अश्रुग्यास नै प्रहरीतर्फ प्रहार गर्दैै थिए, कोही प्रहरीतर्फ ढुंगा प्रहार गर्दै थिए, त कोही हामी रहेको दायाँ र बायाँका घरहरुमा समेत ढुंगा बर्साइरहेका थिए ।

हामीले केहीबेर चिच्याएपछि तल रहेका केही प्रदर्शनकारीहरुले घरतर्फ हान्नका लागि हातमा टिपेको ढुंगा फाले र हामीतर्फ राम्रो संकेत देखाए । हामी प्रेसको ज्याकेट लगाएको भएर पनि होला हाम्रो इशारापछि उहाँहरु रोकिनुभयो ।

हामी त्यस घरको कौशीबाट तलको दृश्यहरु कैद गरिरहेका थियौँ । माहोल थप अशान्त बनिरहेको थियो । हेर्दाहेर्दै प्रदर्शनकारीले तीनकुने चोकमा रहेको मार्बल हाउसमा एक, दुई, तीन… गरी ढुंगामुढा प्रहार गरिरहेका थिए । एकातिर प्रहरीको अश्रुग्यास र अर्कोतर्फ आन्दोलनकारीको ढुंगा प्रहारले माहोल धुँवादार बनेको थियो । हामी जुन घरको कौशीमा थियौँ, त्यसको ठिक विपरित रहेको मार्बल हाउसमा एकाएक आगजनी भयो । कालो मुस्लो आकाशतर्फ उडिरहेको थियो । जब त्यहाँ आगलागी भयो, सहकर्मी दिनेशजीले ‘लौ त्यो घरमा आगो पो लाग्यो त, मान्छे नि पर्यो होला यार’ भन्दै भिडियो खिच्न थाल्नुभयो ।

हामी रहेको घरको बायाँतर्फको घरको कौशी बराबर थियो, पल्लो घरको मान्छेले समेत ‘बाबु हाम्रो घरमा किन ढुंगा हानेको, यसको खर्च कसले दिन्छ, हामी सिधासादा मान्छे’ भन्दै अलाप गरिरहनुभएको थियो । हामीले प्रदर्शनकामरीलाई यहाँ कोही छैन भनेपछि त्यो घरमा ढुंगा इट्टा प्रहार रोकिएको थियो । भित्री गल्लीतर्फ रहेका राजा समर्थकहरुले हामीलाई कोही रहेछ ? भन्दै तलबाट समेत प्रश्न गरिरहेका थिए, हामीले ‘छैन, छैन’ भनिरहेका थियौँ ।

जब हामी भन्दा बायाँ रहेको घरको छतमा एक प्रदर्शनकारी पुगे…

त्यसघरमा लगभग २० मिनेटजति बिताएका छतमा बसेर मुख्य प्रदर्शनस्थलको दृश्य कैद गरिरहेका थियौँ । एकाएक हामी रहेको भन्दा दायाँ छतमा एक प्रदर्शनकारी पुग्नुभयो (कसरी पुग्नुभयो थाहा छैन ।) हामीलाई त्यो घरमा ‘कोही प्रहरी रहेछ त ?’ भन्दै प्रश्न गर्नुभयो । हामीले ‘रहेनछ, बरु त्यो घरमा चाँही प्रहरी छ कि’ भन्दै प्रश्न गर्यौँ । उहाँले ‘खै प्रहरी त देखिन तर ढोका किन खोल्न मान्दैन ? पक्कै प्रहरी छ’ भन्दै छेउपट्टीबाट यो घरमा प्रहरी रहेछ भन्दै तलको भीडलाई उकास्नुभयो । हामीले ‘दाई प्लिज नदेखि नभन्दिनुस्, जे पनि हुनसक्छ कोही शंकास्पद व्यक्ति देखेको भए उहाँहरुलाई कोठामा थुनेर सुरक्षाकर्मीलाई खबर गरौँ’ भन्यौ । तर उहाँले ‘यो घरमा प्रहरी रहेछ, किन ढोका खोल्न मान्दैनन्’ भन्दै तलको भिडलाई उकास्नुभयो । हामीले ‘दाई प्लिज नदेखि नभन्दिनुहोस्, यस्तो बेला त्रासले मान्छेले ढोका खोल्दैनन्’ भन्दै माहोललाई शान्त बनाउन खोज्यौँ । रोकिएको ढुंगा पुनः दायाँतर्फको घरमा बर्सिन थाल्यो ।

हामीले पुनः तलतिर हेर्दा ‘प्रहरी छैन, उहाँले पनि देख्नुएको होइन रहेछ’ भन्यौँ । तल रहेको उत्तेजित भीडले हामीलाई समेत प्रहरीसँग मिलेको इसारा गर्दै स–साना ढुंगा प्रहार गर्नुभयो । हामीले बाँया घरमा रहेका ती प्रदर्शनकारीलाई ‘प्लिज प्रहरी नदेखेको भए, उसै प्रहरी छ नभनिदिनुस्, मानवताको धर्म पनि निभाइदिनुस् भन्यौँ,’ त्यसपछि उहाँले तलतिर इशारा गर्दैै नहान्नुस् भनेपछि, उग्र अवस्थामा रहेका प्रदर्शनकारीले पनि हातमा टिपेको ढुंगा फालेर संयमता अपनाउनुभयो ।

जब हामी भान्छाकोठा रहेको तलामा आयौँ…

जब हामी कौसीबाट तल्लो तलामा आयौँ, त्यहाँको वातावरण एकदम भयवित थियो, सबै घरपरिवारका सदस्यहरु रोइरहेका थिए । दुई बालिका र एक बालक ‘अंकल प्लिज हामीलाई जोगाइदिनुहोस्’ भन्दै हात जोड्दै थिए । ‘अब केही हुँदैन तपाईँहरु सुरक्षित हुनुहुन्छ, भन्यौँ’ । पल्लो घरको बरण्डाबाट समेत ‘हाम्रो घरमा पुलिस नै छैन किन प्रहार गरे ?’ भन्दै रोइरहेका थिए (हामीसँग भिडियो सुरक्षित छ ।) त्यतिबेला भने प्रदर्शनस्थलबाट कुनै ढुंगा प्रहार भएको थिएन ।

हामी ‘अब बस्नोस् है, केही पनि हुँदैन विस्तारै माहोल शान्त हुँदै जान्छ’ भन्दै तल झ्यौँ । उहाँहरुले ‘सुरक्षितसँग जानुहोस् है’ हामीलाई बिदा गर्नुभयो ।

हामी केही व्यक्ति त्यस घरमा प्रवेश गर्यौँ, हेर्यौँ कहीँ केही देखिएन । कालो धुँवा घरभरी भएका कारण धेरैबेर टिक्न नसक्ने अवस्था सिर्जना भएको थियो । अरु साथीहरुलाई त्यहाँको माहोल बुझ्न छाडेर हामी दुई (दिनेशजी र म) सुरेशजी कुनै अस्पतालमा घाइते अवस्थामा छन् कि’ भन्दै खोज्न पुग्यौँ ।

हामीमा कतै भीडले हामीमाथि नै शंका गरेर प्रहार पो गर्ने हो कि भनेर डराइरहेका थियौँ । हामी प्रर्दशनस्थलबाट ठ्याक्कै विपरित दिशापट्टिको गल्लीमा निस्कियौँ । त्यहाँ हामीलाई ठूलो भीडले एकनासले हेरिरहेको थियो । हामीमा डर र शंका दुवै थियो । हामी मुल गेट खोलेर बाहिर निस्किँदा ठूलो भीड त्यहाँ जम्मा भयो । त्यहाँ रहेको भीड संयम थियो, ‘उसै त प्रहार गर्नु हुन्न, प्रहरीले हामीमाथि दमन गर्यौँ, हामी शान्ति चाहान्छौँ’ भनिरहनुभएको थियो । केही बाहेक त्यहाँ रहेका सबैजसो संयम नै देखिनुहुन्थ्यो । उहाँहरुले हामीप्रति गरेको सकारात्मक व्यवहारले हामीमा पैदा डर हरायो । त्यसपछि हामी केही व्यक्तिहरुसँग आन्दोलनबारे प्रतिक्रिया लिएर भित्री गल्लीबाट बागमती पुलतर्फ अघि बढ्यौँ । सायद अफवाहमा उत्तेजित भीडले हामी नपुगेको भए र सत्य नबताइदिएको भए त्यस घरमा पनि मार्बल हाउस जस्तै हुने थियो, कि भन्ने कुराले मन भने पोलिरह्यो ।

भित्री गल्लीबाट जब कान्तिपुरको अफिस वरपर आयौँ, माहोल अशान्त थियो । हामी मुख्य सडकमा निस्कियौँ । ढुंगा–इट्टा र अश्रुग्यासको दोहोरो फायरिङले अशान्त रहेको माहोलको हामी रिपोर्टिङ गर्न लाग्यौँ ।

जब सहकर्मी दिनेशले आगो लागेको घरमा मेरो भाई परेछ भन्दै फोन गरे…

म बुम र ट्राइपड बोकेर हिँडिरहेको थिएँ, सहकर्मी दिनेश क्यामेरा बोकेर तीनकुनेको मुख्य प्रदर्शनस्थल खिच्नमा व्यस्त थिए । म कान्तिपुरको अफिस आसपास नै बसेर कार्यालयमा रिपोर्टिङ गरिरहेको थिएँ । त्यही क्रममा दिनेशीको फोन आयो, ‘ओ साथी मेरो भाई त्यो आगो लागेको घरमा पो परेछ…’ भन्दै भासिएको स्वरमा खबर सुनाउनुभयो । अघि बढौँ माहोल अशान्त, यतै बसौँ आफ्नै साथीको फोनले मन बिचलित बनायो । प्रहरी र प्रदर्शनकारीको दोहोरो प्रहार छल्दै म मार्बल हाउसअघि पुगेँ । त्यहाँ एबीन्यूजकर्मी साथीहरु आँखामा आँसु लिएर ‘हाम्रो साथी त्यहाँ छ’ भन्दै देखाइरहेका थिए ।

दिनेशजी आफैँ अचेत अवस्थामा हुनुहुन्थ्यो । उहाँको हातमा रहेको क्यामेरा मैले लिगेँ र ‘केही भएको छैन, सब ठिक हुन्छ’ भन्दै ढाडस दिएँ । भीड हो, कतै तितरवितर भएको पो होकि भन्ने लागिरह्यो । केही दमकलहरु आए, आगो निभेको जस्तो हुन्थ्यो, त्यसपछि पुनः ह्वार्र आगो बलिरह्यो । त्यही बिचमा हामी केही व्यक्ति त्यस घरमा प्रवेश गर्यौँ, हेर्यौँ कहीँ केही देखिएन । कालो धुँवा घरभरी भएका कारण धेरैबेर टिक्न नसक्ने अवस्था सिर्जना भएको थियो ।

अरु साथीहरुलाई त्यहाँको माहोल बुझ्न छाडेर हामी दुई (दिनेशजी र म) सुरेशजी कुनै अस्पतालमा घाइते अवस्थामा छन् कि’ भन्दै खोज्न पुग्यौँ । कान्तिपुर अस्पताल, बानेश्वरमा रहेको सिभिल अस्पताल पुग्यौँ तर घाइते पत्रकार नै ल्याएको छैन भन्ने खबरले थप दुखित र शसंकित बनायो । सिभिल अस्पतालका एक कर्मचारीले त्यहाँ कोही पत्रकार घाइते भएर नआएको बरु ट्रमा सेन्टर पो लगेको छ कि भन्ने आशंका व्यक्त गरेपछि त्यहाँ फोन सम्पर्कको कोसिस गर्यौँ । तर अस्पतालको साइटमा राखिएको कुनै नम्बरमा फोन लागेन, कुनैको फोन नै उठेन । भारी मन लिएर सिभिल अस्पतालबाट तीनकुने आउँदा कर्फ्यू लागेको जानकारीमा आयो । हामी अशान्त बनेको माहोल छल्दै तीनकुनै उही मार्बल हाउस आयौँ । साथीहरु त्यही हेरिरहनुभएको थियो ।

आगो बलिनै रहेको थियो, आगो ननिभाइएका कारण भित्र प्रवेश गर्ने अवस्था थिएन ।

राज्यकै त्यो गैरजिम्मेवारपन

प्रदर्शनकारी उत्तेजित भएर हिंसा भएको सत्यलाई नकार्न सकिन्न तर राज्य अभिभावक हो । प्राय यस्ता किसिमको प्रदर्शनमा प्रहरीको उपस्थिती भनेकै राज्यकै उपस्थिती हो । तीनकुनेको प्रदर्शनमा हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर आपसी समन्वयको अभावमा त्यहाँ माहोल थप बिग्रिन पुगेको थियो ।

बलिरहेको आगोभित्र साथी जलिरहेको आशंकामा हामीले पटकपटक त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरुलाई ‘प्लिज दमकल दमकल बोलाइदिनुस्, त्यहाँ गएर हेर्ने व्यवस्था छिट्टो मिलाइदिनुस्’ भनिरहेका थियौँ । तर उहाँहरु (सबै होइन) त्यहाँ अघि नै हेरिसकेको, कोही छैन भन्दै पन्छिरहनुभएको थियो । हामीले आफैँले बरुण यन्त्रलाई फोन गर्यौँ, तर राम्रो रेस्पोन्स आएन । कतैबाट भने भीडभाडका कारण आउन नसक्ने जवाफ पायौँ । अझ आएको दमकलमा समेत प्रदर्शनकारीले प्रहार गरेपछि ड्राइभर घाइते हुन पुगेपछि दमकल सुरक्षित स्थानतर्फ गयो । त्यसपछि आगो अलि कम भएका बेला हामी त्यहाँ पुग्थ्यौँ तर सबै ठाउँमा हेर्न नसकेपछि निस्सासिँदै बाहिरिन्थ्यौँ । केही दमकलहरु आए, पानी सकिएर फर्किए, तर आगो पूर्ण नियन्त्रण हुन नसक्दा हामी भित्र साथी जलिरहेको हेर्न बाध्य भयौँ । सायद प्रहरी प्रशासन र सुरक्षा निकायले समेत हाम्रो कुरालाई गम्भीर रुपमा लिएर आगो नियन्त्रणका लागि बेलैमा पहल गरिदिएको भए छिट्टै साथीलाई जीवित नै फेला पार्न सक्ने थियौँ कि !

दिनभरको थकान, ज्यान फतक्क गलेको थियो, आँखा पोलेको थियो, साथी हराएको पीडा अर्कोतिर थियो । कर्फ्यू र दिनभरको ढुंगामुढाले रणमैदान बनेको तीनकुने क्षेत्र हेर्दा दिक्दार लाग्ने दृश्य हेर्दै हामी आगो लागेकोतिर हेरिहेका थियौँ । साँझ पर्दैै थियो, सन्नाटा झनझन बढ्दै थियो । भाई हराएको पीडामा रहेका सहकर्मीलाई ‘म अफिस पुगेर सामान छाडेर तपाईँलाई लिन आउँछु, केही भए फोन गर्नुहोस् है’ भन्दै निस्किएँ । जब अफिस आइपुगे, त्यही घरमा शव भेटिएको खबर थाहा पाएँ, मन भारी भयो, गला अवरुद्ध भयो, संसार नै घुमेजस्तो भयो ।

दिनभर फिल्डमा सँगै रहेको सहकर्मी र उनको परिवारमाथि परेको शोक अनि एक उर्जाशील पत्रकार साथी गुमाउँदाको पीडाले हामी भयवित भयौँ । साँझ साथीलाई ढाडस दिन सम्पादक रमेश जमकटेल, सहकर्मी दशराज र म फेरि घटना भएको स्थान तिनकुने पुग्यौँ । भाई गुमाएका सहकर्मीको बेहाल अवस्था, परिवारका सदस्यहरुको अलाप, आफन्तको मलिन अनुहार र सन्नाटाको माहोलले शब्दहरु हराए । केहीबेरपछि उक्त भवनबाट शव निकालियो, सहकर्मी दिनेशजी र परिवारका सदस्यलाई हाम्रै गाडीमा शव परिक्षणका लागि लगिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्यौँ ।

त्यहाँ पहिले नै आफन्त र पत्रकारहरुको भीड लागिसकेको थियो । अबेर भइसकेकाले पोस्टमार्टम शुक्रबार नहुने अस्पताल प्रशासनबाट जानकारी आएपछि हामी सहकर्मी दिनेशसहित परिवारका सदस्यहरुलाई घरसम्म छाड्न घर पुग्यौँ । घर र छरछिमेकको माहोल उही सन्नाटा थियो । घर पुगेर परिवारको मलिन अनुहार हेरेपछि थप भयवित भए पनि सान्त्वना दिँदै भारी मन लिएर हामी फर्कियौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?