काठमाडौं । विश्व बैंकले नेपाललाई १५० मिलियन डलर उपलब्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालका रणनीतिक सडक सञ्जाल बिस्तारका लागि सो वित्तीय सहायता दिने निर्णय गरेको हो ।
सडक विभागमार्फत परिचालन हुने यो सहायताबाट रणनीतिक सडक बिस्तार गरिनेछ भने पुलहरूको मर्मत सम्भारमा समेत उपयोग गरिनेछ ।
नेपाललाई दिने वित्तीय सहायता बोर्ड बैठकबाट अनुमोदन भएको जानकारी दिँदै विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि क्षेत्रीय निर्देशक डेविड सिस्लेनले रणनीतिक सडक बिस्तारले बजार र सेवासम्मको पहुँच बिस्तारमा सघाउ पुग्ने बताए ।
उनले भने,‘नेपालको सडक सञ्जालको प्रतिरोध क्षमता सुरक्षित र दिगो जडानको लागि आधारभूत छ । यो कार्यक्रमले प्रतिरोधात्मक पूर्वाधार विकासमा जोड दिन्छ र संवेदनशील समुदायहरूलाई बजार र सेवासम्म पहुँच पुर्याउने काम गर्छ, साथै नेपालको दिगो वृद्धि प्रवर्द्धन गर्न मद्दत गर्छ ।’
विश्व बैंककाअनुसार यो कार्यक्रमले सडक विभागको क्षमता सुदृढ गर्नका लागि समेत सघाउ पुग्नेछ भने प्रभावकारी पूर्वाधार व्यवस्थापनको लागि संस्थागत प्रणालीलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया