काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरुबिचको बैठक सकिएको छ ।
बैठकमा सत्तापक्षले विपक्षीलाई सदन अवरोध खुलाउन आग्रह गरे पनि विपक्षी दलले आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ ।
बैठकमा सभामुख घिमिरेले दुई दिनअघि भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल बहस गर्ने वातावरण बनाउन दलहरुलाई आग्रह गरेका थिए । उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन पनि अपिल गरेका थिए ।
अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने सभामुखको भनाइ थियो ।
बैठकमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराएका थिए ।
उनले संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबिच टेलिफोन संवाद भएको पनि जानकारी दिएका थिए । प्रधानमन्त्रीले आज नै सर्वदलीय बैठक बोलाएको पनि बर्तौलाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया