काठमाडौं । हेर्दा सुन्दर र आकर्षक टेस्ला वा डिपलको जस्तै देखिने लोगो । कुनै प्रतिष्ठित कम्पनीले युरोपेली बजारमा बेच्नका लागि बनाइएको जस्तै देखिने कार हो, एलईभी जिरो वान । नेपाली बजारमा एलएस अटोका नामबाट आयात भई बिक्री वितरण गर्न लागिएको एलएस जिरो वान कारले अझै अचम्मको अफर ल्याएको छ, ८ वर्षको वारेन्टी ।
७० लाख रुपैयाँ मूल्यमा बिक्री गर्ने भनिएको एलएस जिरो वान कारको बारेमा खोजी गर्दा भने यो नेपाल बाहेक अन्यत्र मुलुकमा कहीँ पनि भेटिएन । यतिसम्मकी कार बनेको भनिएको देश चीनमा समेत यस कारको बारेमा न कुनै रिभ्यु भेटिन्छ, न उत्पादक कम्पनी, फ्याक्ट्री आदिका बारेमा नै जानकारी छ । तर नेपाली बजारमा भने एसयूभी कार र युरोपियन सुरक्षा मापदण्डको एनक्याप फाइभ स्टार रेटिङ पाएको भन्दै बिक्री वितरण भइरहेको छ । जबकि एनक्यापको रेटिङमा एलईभी जिरो वान कारको नामोनिसान छैन ।

नेपाल सरकारले ल्याएको कर छुटको नीतिले नेपालमा चिनिया ईभी कारको आयात दैनिकरुपमा बढिरहेको छ भने ईभी गाडीप्रति नेपाली उपभोक्ताले देखाएको सदाशयताको फाइदा उठाउँदै आफ्नै ब्रान्डमा समेत कारहरू आउन थालेका छन् । तर यदि नेपालमा ती कारहरू चल्न सकेनन् भने भोलि त्यही महँगा कारहरू डम्पिङ साइटमा थुप्रिने अवस्थासम्म आउन सक्ने खतरा बढेको छ ।
नेपालमा पछिल्लो समय तीन दर्जनभन्दा बढी इलेक्ट्रिक गाडीको आयात भएको छ । जसमध्ये केही ब्रान्डले मात्रै बजारमा आफ्नो उपस्थिति दरिलो रूपमा देखाउन सकेका छन् । कुनै पनि कम्पनीको गाडी आयात भएर ग्राहकसम्म पुग्दा त्यसको विश्वसनियता पहिलो सर्त रहन्छ । त्यसपछि सहज चार्जिङ, सहज सर्भिसिङ र पार्टपुर्जा पाइयोस् भन्ने हुन्छ । तर पछिल्लो समय नेपाल भित्रिएका केही चिनिया इलेक्ट्रिक गाडीप्रति शंका गर्ने ठाउँ प्रशस्त देखिएका छन् ।
एलएस अटोले नेपालमा बिक्री वितरणको लागि ल्याएको एलएस जिरो वान कार पनि त्यस्तै एउटा कार हो, जसको न विगत छ न भविष्य नै राम्रो देखिन्छ । एलएस अटोले नेपाल भित्राएको एलईभी जिरो वान कार नेपालबाहेक अन्य कुनै पनि मुलुकमा बिक्री वितरण भएको देखिँदैन । बरु कार लोकप्रिय छ भन्ने देखाउन नायिका पूजा शर्माले एलईभी जिरो वान कार खरिद गरेको विषयलाई व्यापक प्रचारप्रसार गरिएको छ । तर यस कारको रिभ्यु हेर्ने हो भनेचाहिँ यस्ता गाडीप्रति प्रश्न गर्ने प्रशस्त ठाउँ छन् ।
एलईभी जिरो वान कारको रिमोटमा ब्रान्डको लोगोसमेत नभएको विषयलाई सामान्य मान्ने हो भने पनि उत्पादककै विषयमै पनि प्रश्न गर्ने प्रशस्तै ठाउँ छन् । यो कार कहाँ, कस्तो फ्याक्ट्रीमा कसरी बनाइयो, यसको रिसर्च एन्ड डेभलपमेन्ट कसरी भयो अनि क्वालिटी प्यारामिटर के के हुन् भन्ने विषय नै स्पष्ट छैनन् ।

नेपाली बजारमा एलईभी जिरो वान नामबाट एलएस अटोले भित्राएको यो कारको सर्भिसिङ गर्ने स्थानसम्म पनि हालसम्म बनेको छैन । कम्पनीले काठमाडाैंको मनमैजुमा सर्भिस सेन्टर बनाउँदै गरेको दाबी गरेको भए पनि हालसम्म सर्भिस सेन्टर बनिसकेको छैन ।
फरक व्यापारिक पृष्ठभूमिबाट अटोमोबाइल्स बिजनेसमा प्रवेश गरेका एलएस अटोका सञ्चालकले नेपाल ल्याउनका लागि मात्रै चीनमा एलईभी गाडी बनाएको विभिन्न तथ्यले देखाएको छ । अन्य देशमा यस्तो कार नभएको र कम्पनीको विगत नदेखिएको आदि कारणबाट ठूलो रकम खर्च गरेर किन्नुपर्ने यस्तो कारबाट उपभोक्ता ठगिने त होइन भन्ने प्रश्नसमेत उठेको छ ।
कम्पनीले ८ वर्षको वारेन्टी दिएर सर्भिस र स्पेयर्स पार्ट्सको ग्यारेन्टी गर्ने दाबी त गरेको छ, तर आफ्नै सर्भिसिङ सेन्टरसमेत नभएको कम्पनीले गरेको दाबी अनुसार काम गर्छ त भन्ने प्रश्नसमेत उब्जिएको छ ।
नेपालबाटै चल्छ चीनमा बनेको गाडीको वेबसाइट !
एलएस अटोले एलईभी जिरो वान कार चीनमा बनेको दाबी गरिरहेको छ । तर उक्त कार चीनमा प्रयोगमा आएको पाइँदैन भने चीनमा कुन कम्पनीले बनाएको हो भन्नेसमेत स्पष्ट खुलाउन सकेको छैन । एलएस अटोमोटिभ्स भनेर ग्लोबल वेबसाइटको रूपमा चिनेको ठेगाना राखेर अक्टोबर २०२४ मा डोमेन दर्ता भएको देखिन्छ । जुन वेबसाइटमा एलईभीको विषयमा केही बयान त देख्न सकिन्छ तर चीनमा होस्ट गर्दा धेरै सहज हुनुपर्नेमा नेपाली सर्भरबाट होस्ट भएको देखिन्छ । यसबाट एलएस अटो नेपालले नेपाली उपभोक्ताको आँखामा छारो हाल्न आफैँले डमी चिनिया कम्पनी मार्फत काम गरेको बुझ्न गाह्रो छैन ।

ब्लुबुकमै कैफियत !
एलईभी जिरो वान कारको कम्पनीको नाम सांघाई लन्च राखिएको छ । सांघाई लन्चसँग नाम जोडिएका आधा दर्जन कम्पनी त इन्टरनेटमा भेटिन्छन्, सांघाई लन्च डिजाइन, अटोमोटिभ, अटोमोबाइल आदि । त्यसमा पनि चाखलाग्दो कुरा त सांघाई लन्च अटोमोटिभ टेक्नोलोजी कम्पनी लिमिटेडले बनाएको भनेर एलईभी जिरो वान कारको प्रचार गरिएको छ, तर सांघाई लञ्चको कम्पनीमा त्यस्तो कुनै रेकर्ड फेला पर्दैन । सांघाई लन्च अटोमोटिभ टेक्नोलोजी अटोमोबाइलको डिजाइन कन्सल्टेन्ट हो । अनि उसले आफ्नो वेबसाइटमा टेस्ला, लिपमोटर, भिनफास्ट, बीवाईडी, टोयोटा जस्ता ठूला ब्रान्डको डिजाइन गरेको जिकिर गरेको छ, तर एलईभी जिरो वानको नामोनिसान त्यहाँ छैन । सवारीको मोडलमा एलएसईभी वा एलईभी जिरो वान भन्ने कहीँ देखिँदैन । ब्लुबुकमा लेखिएको सवारी साधनको मोडलसमेत निक्कै अस्पष्ट हुने गरी अंक र अक्षरको मिश्रण गरी बनाइएको छ, साथै खरिद भई आएको कम्पनीको नाम लेख्नुपर्ने ठाउँमा खाली छाडिएको छ । यस कार नेपालमा आयात गर्दा र यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दासमेत कैफियत पाइएको छ ।

एनक्यापमा फाइभ स्टार रेटिङ नै झुट !

एलएस अटोले आफ्नो वेबसाइटमा एलईभी जिरो वान गुणस्तरीय छ भन्ने भ्रम छर्न कुनै कसर बाँकी राखेको छैन । अटोमोबाइलको क्र्यास टेस्ट गरी रेटिङ प्रदान गर्ने ग्लोबल एनक्यापको युरोपियन भर्सन युरो एनक्यापले फाइभ स्टार रेटिङ दिएको भनेर कम्पनीले दाबी गरेको छ । तर युरो एनक्यापको वेबसाइटमा अहिलेसम्म एलईभी कारको क्र्यास टेस्ट गरेको देखिएको छैन । क्र्यास टेस्ट नै नगरेपछि फाइभ स्टार रेटिङ पाएको दाबी पनि झूट भएको खुलेको छ ।
हेर्नुहोस्, एनक्यापको वेभसाटमा उल्लेख भएका कारहरूको विवरण
https;|/www.euroncap.com/en
यसरी सुरक्षासँग सम्बन्धित मुख्य प्यारामिटरमै झुटो दाबी गरेको एलएस अटोले भ्रमको आडमा नेपाली उपभोक्तालाई न्यून गुणस्तरीय कार बिक्री गर्न खोजेको आशंका गरिएको छ । अटोमोबाइल अर्थात् गाडीसम्बन्धी कुनै जानकारी नै नभएको व्यापारिक समूहले नेपाल भित्राएको उक्त गाडी नेपालका लागि मात्रै तयार पारिएको र कागजातसमेत नक्कली रहेको हुनसक्ने आशंका गरिएको छ । चीनमा उत्पादन भएको भनिएको त छ तर यो कार न चीनमा चलेको छ, न अन्य मुलुकमा नै । नेपालमा मात्रै आफ्नै ब्रान्ड र लोगोमा बिक्री गर्न खोजिएको र कारको गुणस्तर तथा आफ्टर सेल्स सर्भिसलगायतमा धेरै प्रश्न उब्जिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया