काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले कानुनको सफल कार्यान्वयन गर्न नसक्दा सडक बालबालिकाहरु बालिग भइसक्दा समेत जन्म दर्ता पाउन नसकेको बताएकी छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । कानुन कार्यान्वयनको अभावका कारण सडक बालबालिकाहरू अनागरिक भएर बस्नुपरेको उनको भनाइ छ ।
उनले राजनीतिक दल र कर्मचारीहरूले समेत दलगत रूपमा हेर्दा नागरिकले दुःख पाउनुपरेको बताइन् । उनले पञ्जीकरण शाखाहरूले दिने सेवा सुविधामा समेत राजनीति प्रवेश गरेर अल्झाइरहेको भन्दै जन्म दर्तासम्बन्धी स्पष्ट कानुन हुँदाहुँदै पनि स्थानीय तहका जनप्रतिनिधिहरूमा कानुनी अज्ञानताको कारणले समस्या पाएको बताइन् ।
सडक बालबालिकालाई समयमै जन्म दर्ता प्रदान गरी उनीहरूको अधिकार र हक सुनिश्चित गर्नुपर्नेमा उनको जोड छ । संविधानमा ‘नेपालभित्र फेला परेको र पितृत्व र मातृत्व ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु र आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्ने’ व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया