काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार राजावादीको हिंसात्मक हर्कतबाट भएको जनधनको क्षतिपछि राज्यको सुरक्षा प्रणालीमाथि नै गम्भीर प्रश्न खडा भएको छ । राज्य आफैले प्रदर्शनकारीको ‘न्यून उपस्थिति’ भनेको त्यस दिनको प्रदर्शनलाई सरकारले किन नियन्त्रणमा लिन सकेन भन्ने प्रश्न स्वयं राज्यमाथि नै तेर्सिएको छ । आन्तरिक सुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी पाएको गृह मन्त्रालय र प्रहरी कमजोर बन्दा राजावादीको प्रदर्शन अराजक बनेको टिप्पणी पनि अहिले भइरहेको छ ।
राजावादीले आयोजना गरेको प्रदर्शनको वस्तुस्थिति आकलन गर्न र पर्याप्त सतर्कता अपनाउन नसकेको भन्दै अहिले सरकार र प्रहरी प्रशासनको चर्को विरोध भइरहेको छ । तीनकुने घटनालाई लिएर ‘रक्षात्मक’ बनेको सरकार र प्रहरी प्रशासन अहिले आन्तरिक समीक्षामा जुटेको छ ।
त्यस दिन समाजवादी मोर्चा र दुर्गा प्रसाईंको नेतृत्वमा छुट्टाछुट्टै स्थानमा कार्यक्रम राखिएको थियो । विपरीत ध्रुवका यी दुईको प्रदर्शनमा हुनसक्ने सम्भावित झडपलाई लिएर काठमाडौं प्रशासनले उनीहरूको भेट हुन नसक्ने गरी रुट तय गरेको थियो । यो विषयमा प्रहरी प्रशासन सफल नै भएको हो । समाजवादी मोर्चा र राजावादीबिच कहीँ मुठभेड भएन । समाजवादी मोर्चा भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा आफ्नै ढंगले कार्यक्रम गरिरहेको थियो भने राजावादीहरूले तीनकुनेमा । तर तीनकुनेको अवस्था एकाएक हिंसात्मक बन्न पुग्यो । त्यसक्रममा पत्रकार सुरेश रजकसहित दुई जनाको मृत्यु हुन पुग्यो भने प्रहरी, प्रदर्शनकारी र सर्वसाधारण गरी दर्जनौं घाइते बने । सरकारी र निजी सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाट भए । केही क्षण अघिसम्म शान्त रहेको तीनकुनेको अवस्था एकाएक हिंस्रक बनेपछि त्यहाँका बासिन्दाले मुलुकमा सरकार रहेको अनुभूतिसमेत गर्न सकेनन् ।
हो, यो घटनापछि सरकार र प्रहरी प्रशासनको चर्को विरोध भइरहेको छ । राजावादी पनि रक्षात्मक अवस्थामा पुगेका छन् । १५ गतेको प्रदर्शनपछि १७ गतेदेखि आन्दोलनलाई निरन्तरता दिने भनेका राजावादीहरूले त्यसपछि कुनै प्रदर्शन गर्न सकेका छैनन् ।
१५ गतेको प्रदर्शनका कमान्डर भनिएका दुर्गा प्रसाईं स्वयं नेपालबाट भागेर भारत पुगिसकेको आशंका गरिएको छ । अहिले सरकार र प्रहरी प्रशासन चुकेको भनेकै ‘अराजनीतिक र उद्दण्ड स्वभावका’ दुर्गा प्रसाईंको रणनीति बुझ्न नसक्नु हो । यस्तो स्वभावका प्रसाईंको कमान्डमा हुने प्रदर्शन हिंसात्मक बन्न सक्ने अनुमान सरकारले समयमै किन गर्न सकेन भन्ने प्रश्न अहिले सर्वत्र उठिरहेको छ ।
त्यसो त तीनकुनेको घटनामा गुप्तचर प्रणाली अत्यन्तै कमजोर देखिएको र आन्दोलनकारीको कमान्ड सम्हाल्ने पात्रको प्रवृत्ति एवं रणनीति बुझेर गृह प्रशासनले समयमै निगरानी गर्न नसकेको सुरक्षाविद्हरूको भनाइ छ । राजनीतिक दलका नेताहरू पनि यसमा सहमत छन् ।
राजालाई शासन सत्तामा ल्याउन गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले शान्तिपूर्ण आन्दोलन गर्ने भनी दिएको निवेदन र कार्यक्रमका लागि तोकिएको स्थान तीनकुनेमा राजनीतिक भाषणका लागि मञ्चसमेत खडा भएकाले अराजक गतिविधि हुने आकलन नगरिएको गृह प्रशासनको भनाइ छ । वास्तवमा गृह प्रशासन चुकेकै यहीँ हो ।
गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘संसद् भवन, सिंहदरबार, पार्टी कार्यालय, नेताका निजी निवास उनीहरूका मुख्य निसाना हुन सक्ने अनुमान भने गरिएको थियो, तर सार्वजनिक सम्पत्ति, व्यक्तिको घर तोडफोड, लुटपाट, आगजनी होला भन्ने कल्पना पनि गरिएको थिएन । त्यहीअनुसार नेताहरूको घर, पार्टी कार्यालयमा बढी सुरक्षाकर्मी तैनाथ गरिएको थियो । त्यसैले त्यता बढी क्षति हुन पाएन । तर जहाँ सोचिएको थिएन, त्यहाँ नै बढी क्षति हुन पुग्यो ।’
राष्ट्रिय अनुसन्धान विभागका पूर्वएआईजी देवराज भट्ट दुर्गा प्रसाईंबाट राजनीतिक व्यवहार अपेक्षा गर्नुमै सरकार र प्रहरी प्रशासनबाट भुल भएको बताउँछन् ।
‘प्रसाईंले कुनै न कुनै हिंसा फैलाउँछन् भनेर सरकारले समयमै बुझ्नु पर्थ्यो र त्यही अनुसार आफूलाई ढाल्नु पर्थ्यो, सरकारबाट गल्ती यहीँ भयो,’ उनी भन्छन् ।
अराजनीतिक व्यक्तिमाथि सुरक्षाकर्मीको निगरानी नबढाउनु तर निजी घरको छतमा बसेर सुरक्षाकर्मीले बल प्रयोग गर्नु पनि गलत भएको उनको भनाइ छ ।
नेपाल प्रहरीका पूर्वडीआईजी केशव अधिकारी गुप्तचर प्रणाली अत्यन्तै कमजोर बन्दा सरकार तीनकुनेमा चुकेको धारणा राख्छन् । आन्दोलनका बेला पलपल विभिन्न घटना विकसित हुने र त्यसबारे विभिन्न स्रोतमार्फत सुरक्षा निकायले जानकारी लिनुपर्नेमा सरकार त्यसमा चुकेको उनको भनाइ छ ।
अहिले आफैँले सवारी चलाएर प्रहरीलाई पेल्दै निषेधाज्ञा तोडेका प्रसाईंलाई समयमै किन पक्राउ गरिएन ? पक्राउ गरेको भए यो हदसम्मको घटना हुने थिएन कि भनेर पनि बहस सुरु भएको छ । यो साँचो हो कि प्रहरीलाई नै गाडीले धकेल्दै अघि बढेर ढुक्कले गाडीबाट निस्कँदासमेत उनलाई पक्राउ गरिएन । यही कारण प्रदर्शनकारीको मनोबल बढ्यो र उनीहरू अराजक गतिविधितर्फ केन्द्रित भए ।
प्रहरीका एक अधिकारीका अनुसार तीनकुनेमा हिंसात्मक गतिविधि हुँदासमेत उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन नै दिइएको थिएन । जसको फाइदा उनले भरपुर उठाए । र, यतिका दिनसम्म पनि उनलाई पक्राउ गर्न नसक्दा प्रहरी संगठन नै लज्जित हुनुपर्ने अवस्था आएको छ । प्रसाईं त्यस दिन साढे ४ बजेतिर नरेफाँट हुँदै भागेर लुभु र इमाडोलको बीचमा रहेको धर्मगुरु पुष्कर खतिवडाको घर पुगेका थिए । उनलाई पक्राउ गर्न राति साढे ७ बजेतिर प्रहरी खटिँदा उनी फरार भइसकेका थिए । प्रसाईंलाई अझै पक्राउ गर्न नसक्नु लज्जास्पद भएको पूर्वडीआईजी अधिकारी बताउँछन् ।
तीनकुने प्रदर्शन नियन्त्रणका लागि त्यस दिन करिब हजारको हाराहारीमा प्रहरी खटिएको थियो । प्रहरीमाथि नै गाडी चलाउने प्रयास गरेर अघि बढेका प्रसाईंलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर फेरि प्रदर्शन भइरहेको क्षेत्रतर्फ छाड्नु नै गल्ती भएको उनी बताउँछन् । अहिले प्रहरीभित्र पनि यो घटनालाई लिएर ‘प्रहरीको असफलता’ भन्दै चर्को बहस भइरहेको छ ।
अहिले नियन्त्रणमा लिइसकेका प्रसाईंलाई किन छाडियो ? नियन्त्रणमा लिन आदेश माग्दा माथिबाट किन दिइएन ? फिल्डमा खटिएका प्रहरीको मनोबल गिराउने काम किन भयो ? भन्ने ढंगले पनि प्रश्न उठिरहेको छ ।
अर्को कुरा, तीनकुने घटनाको छानबिन गर्न अधिकार सम्पन्न आयोग बनाउन विभिन्न दलले माग गरिरहेका छन् । मानवअधिकार आयोग र नागरिक तहबाट यो आवाज उठिरहेको छ । तर सरकारले तत्परता देखाएको छैन ।
मूलधारका राजनीतिक दलहरूले भने आयोग गठनमा भन्दा पनि फौजदारी न्याय प्रशासनअनुसार दोषीमाथि कारबाहीको माग मात्रै उठाएका छन् । संसदमा पनि आयोग गठनको माग उठे पनि प्राथमिकतामा परेको छैन । अब त आज रातिदेखि नै संसद् नै अन्त्य हुने भइसकेको छ ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ आयोग गठनको आवश्यकता नरहेको बताउँछन् । मन्त्रिपरिषद्ले नै शुक्रबारको घटनालाई आपराधिक भनेर निचोड निकालेर गृह प्रशासनलाई छानबिन र दोषीउपर कारबाहीको जिम्मेवारी दिएकाले छुट्टै आयोग गठन नगरिएको बताउँछन् ।
गृहमन्त्री रमेश लेखक पनि आयोग वा समिति आवश्यक नरहेको बताउँछन् । ‘गृह प्रशासनले शुक्रबारको घटनालाई राम्रोसँग छानबिन गरेको छ । सम्पूर्ण तस्बिर र भिडियो संकलन भएका छन् । सीसीटीभी फुटेज प्राप्त भइसकेका छन् । प्रहरीले तिनको स्क्रिनिङ गरिरहेको छ । अराजक र हिंसात्मक घटनामा जो–जो संलग्न छन्, ज–जसले अपराध गरेका छन्, ज–जसले उक्साएका छन्, तिनलाई पक्राउ गरिँदै छ,’ उनले भने, ‘त्यसैले आयोग वा समिति आवश्यक पर्ने देखिँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया