काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेकी युट्युबर गंगा लामा हाजिरी जमानीमा रिहा भएकी छिन् । सरकारी वकिल कार्यालयको दबाबपछि लामालाई ब्युरोले हाजिरी जमानीमा रिहा गरेको हो ।
मंगलवार अपराह्न करिब ३ बजे पक्राउ परेकी लामालाई साँझ ५ बजेसम्म साइबर ब्युरोको कार्यालयमा राखिएको थियो । लामाले आफ्नो युट्युब च्यानल गुड टिभीबाट व्यक्तिको चरित्रहत्या हुने गरी सामाग्री प्रकाशन गरेको र प्रकाशित उजुरीले मान सम्मानमा चोट पुराएको भन्दै ब्युरोमा उजुरी परेको थियो । लामाले केही समय अगाडि ‘आफ्नै छोरीसँग श्रीमान् रंगेहात भेटेपछि …’ भन्ने शीर्षकको भिडियो आफ्नो युट्युब च्यानलमा पोस्ट गरेकी थिइन् । सोही भिडियोको विषयमा युट्युबर लामा र आरोप लगाउने महिलाविरुद्ध ब्युरोमा उजुरी परेको थियो ।
सोही उजुरी छानबिनका लागि लामालाई मंगलवार पक्राउ गरिएको थियो । तर लामा पक्राउ परे लगत्तै उनलाई छाड्न विभिन्न व्यक्तिले दबाब दिएका थिए । पछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले दबाब दिएपछि साइबर ब्युरोले लामालाई मंगलवार साँझ हाजिरी जमानीमा छाडेको हो ।
मोरङको मिक्लाजुङ गाउँपालिका ६ बेतनी स्थायी ठेगाना भई पुतलीसडकमा कार्यालय चलाएर बसेकी ३९ वर्षीय गंगा लामा भन्ने गंगा कुमारी तामाङलाई साइबर ब्युरोले साइबर अपराधको कसुरमा पक्राउ गरेको थियो । मंगलवार पक्राउ परेकी लामालाई बुधवार म्याद थपका जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा लग्ने तयारी थियो । तर मंगलवार नै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले लामालाई छाड्न दबाब दिएपछि अनुसन्धान नै सुरु नगरी लामालाई हाजिरी जमानीमा छाड्न प्रहरी बाध्य भएको हो ।
लामा यति बेला हिरासत मुक्त भइसकेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया