काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रम, मिथ्या एवं संशयपूर्ण सामग्रीबाट जनता भ्रमित हुन नदिने जिम्मेवारी सञ्चारमाध्यमको भएको बताएका छन् ।
बुधबार सिंहदरबारमा आयोजित सार्वजनिक प्रशारण सेवा रेडियो नेपाल ७५औँ वर्ष प्रवेशका अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्राकृतिक घटना, महामारीलगायत विपद्को समयमा सञ्चारमाध्यम विशेष गरी रेडियोको भूमिका महत्त्वपूर्ण रहेको बताए । आफ्नो पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको भन्दै रेडियो नेपालको साढे सात दशक लामो प्रशारण यात्राले फड्को मारी विभिन्न जातजाति र भाषाभाषीको आवाज बन्न सकेको उनको भनाइ छ । मुलुकमा लोकतन्त्रको स्थापनापछि सञ्चारमाध्यमको विकासले गति लिएको भन्दै उनले प्रभावकारी सञ्चालनका लागि चुनौती थपिएको बताए ।
राष्ट्रपति पौडेल सञ्चारमाध्यमको महत्त्वपूर्ण र गम्भीर जिम्मेवारीलाई बोध गरेर संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको बताए । नेपालको राजनीतिक परिवर्तनमा पत्रकारिताको महत्त्वपूर्ण योगदान रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया