६ वटा संसदीय समितिको बैठक बस्दै

लोकपथ
364
Shares
फाइल तस्बिर

काठमाडौं । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने कृषि,सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीति सम्बन्धी आवश्यक सुझाव संकलन तथा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा सामाजिक परिचालिकाहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा गैरसरकारी संघसंस्था, नागरिक समाज लगायतसँग छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त,नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसद्मा प्रस्तुत भएको नेपाल सरकारको आव २०७९/०८० को वार्षिक प्रतिवेदन (विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार) का सम्बन्धमा छलफल हुनेछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?