काठमाडौं । कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर तनावको स्थिति सिर्जना भएको छ ।
महानगप्रमुख बालेन्द्र शाह (बालेन) ले संघीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालयमा हाजिरीका लागि उपस्थित हुने भएसँगै नगरप्रहरी परिचालन गरिएको छ । जसकारण कामका लागि पुगेका सेवाग्राहीहरु मुकदर्शक बनेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।
यता अन्य कर्मचारीहरु र विभिन्न दल निकट कर्मचारी युनियनका प्रतिनिधिहरुले कर्मचारीलाई महानगर प्रवेश गर्न नदिएर हुर्मत लिन नपाइने भन्दै विरोध जनाइरहेका छन् ।
यता वडाध्यक्ष र कर्मचारीहरुले नै गुरागाईँलाई हाजिर गराउनुपर्ने आवाज उठाएपछि मेयर बालेनले महानगर प्रहरी परिचालन गरेका हुन् ।
महानगर कार्यालयमा गुरागाईँलाई रोक्न महानगरप्रहरी तैनाथ रहेको छ भने अर्कोतिर कर्मचारी र वडाध्यक्षहरु उनको स्वागतका लागि बसेका छन् ।
प्रशासकीय अधिकृत विवादपछि कर्मचारीहरुले लामो समयदेखि तलब समेत पाउन सकेका छैनन् । जसकारण प्रमुख प्रशासकीय अधिकृतको हाजिरीको पक्षमा कर्मचारीहरु देखिएका हुन् ।
पूरानो बसपार्कमा रहेको काठमाडौं टावरको नक्सापासमा अनियमितता भएको भन्दै मेयर बालेनले उनलाई अघोषित रुपमा निलम्बन गरेका थिए । मेयर बालेनले अर्को प्रशासकीय अधिकृत ल्याउन चाहे पनि संघीय सरकारले उनीमाथि कुनै कारबाही गर्नुपर्ने आधार नदेखिएको भन्दै नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि तनावको स्थिति सिर्जना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया