काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १५ गतेको तीनकुने घटनाबारे सत्य तथ्य र निष्पक्ष छानबिन गर्न पूर्वन्यायधीशको अध्यक्षतामा न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरूले बिहीबार सिंहदरबारस्थित कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
ज्ञापन पत्र बुझाउँदै अध्यक्ष लिङदेनले सरकारले दमन गरेको आरोप लगाउँदै दमनमा संलग्न सरकारको एकपक्षीय छानबिनले पीडितलाई न्याय दिन नसक्ने उल्लेख गरे । निष्पक्ष छानबिनका लागि पनि न्यायिक आयोग गठन गर्न माग गरे ।
भविष्यमा यस्ता घटना हुन नदिनको लागि सरकारले गम्भीर भएर अनुसन्धान गर्नुपर्ने उनको जोड छ । घटनाको स्वतन्त्र छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने तथा दमनको नेतृत्व गर्ने प्रहरी कमाण्डर तथा प्रशासनिक कर्मचारीलाई निलम्बन गर्नुपर्ने समेत उनको माग छ । उनले मृतकहरू सविन महर्जन र सुरेश रजकलाई शहीद घोषणा तथा परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।
उनले भने, ‘भविष्यमा यस्ता प्रकारका घटनाहरू नदोहोरिनका लागि उक्त दिनको घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन हुन आवश्यक छ । दमनमै संलग्न सरकारको एकपक्षीय छानबिनले पीडितलाई न्याय दिन नसक्ने हुनाले स्वतन्त्र, निष्पक्ष न्यायिक आयोग गठनका लागि सरकारसँग माग गर्दछौँ । सर्वोच्च अदालतको पूर्व न्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोगको गठन, छानबिनका लागि गृहमन्त्रीको राजीनामा, चैत १५ गतेको दमनको नेतृत्व गर्ने प्रहरी र प्रशासनिक कर्मचारीको निलम्बन, मृतकहरू सविन महर्जन र सुरेश रजकलाई शहीद घोषणा तथा परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।’
उनले राप्रपा नेताहरू रवीन्द्र मिश्र र धवल समशेर जबरा लगायतका नेताहरूमाथि लगाइएका झुटा मुद्दाहरूको खारेज गर्दै यथाशीघ्र रिहाइ गर्न समेत कार्यवाहक प्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराए । ज्ञापन पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले प्रदर्शनमा भएका अराजक गतिविधिहरूबारे सरकारले गहिरोसँग अध्ययन गरिरहेको बताए । उनले उल्लेखित मागहरू सम्बोधन गर्न आवश्यक छलफल गर्ने बताए ।
सरकारले शान्तिपूर्ण आन्दोलनमा दमन गर्न खोजेको कारण तीनकुने घटनाको मुख्य जिम्मेवार सरकार स्वयं रहेको राप्रपाको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया